बाल न्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छ : प्रधानन्यायाधीश

सफल खबर संवाददाता

शनिबार, २२ बैशाख २०८१, २० : ३०
बाल न्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छ : प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बाल न्यायको महत्व र आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्ने बताएका छन् । 

काठमाडौँमा आज आयोजित बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले बाल न्याय बाल अधिकारको महत्वपूर्ण आयाम रहेकाले त्यसको महत्व र आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्ने बताए । उनले भने, “बाल न्यायको उचित र प्रभावकारी कार्यान्वयन गर्नु प्रत्येक सभ्य राष्ट्रको दायित्व हो । त्यसैले नेपाल पनि त्यसमा प्रतिबद्ध छ ।”  

उनले चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा एउटा छुट्टै बाल अदालतको स्थापना गर्ने सरकारको तयारी भएको बताउँदै बाल न्याय प्रणालीलाई सुदृढीकरण गर्नेतर्फ विभिन्न प्रयासका बावजुद थुप्रै समस्या र चुनौती विद्यमान रहेको औँल्याए । 

कार्यक्रममा भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश धनञ्जय यशवंत चन्द्रचूडले बालबालिका समाजका भविष्य रहेका बताउँदै बालबालिकाको कमजोरी र आवश्यकता पहिचान गरी सम्बोधन गर्नुपर्ने बताए । “बालबालिका समाजको विभिन्न आयामसँग गुज्रिएका हुन्छन् । पारिवारिक विघटन, घरेलु हिंसा, गरिबी वा अरू कारणले गर्दा उनीहरूले आवश्यक मार्गदर्शन पाउँदैनन् र नकारात्मक प्रभावमा पर्दछन्”, उनले भने । 

बालबालिकालाई न्याय दिने कुरामा सम्पूर्ण कोणतर्फ ध्यानदिनु आवश्यक रहेको भन्दै चन्द्रचूडले विशेषगरी सीमान्तीकृत र पछि पारिएका समुदायका बालबालिकाले न्याय नपाउनेतर्फ सचेत रहँदै उनीहरूका तर्फबाट पनि आवाज उठाउनुपर्नेमा जोड दिए । विश्वभर नै साइबर क्राइमको जोखिम बढेको र त्यसमा मुख्य गरी बालबालिका निशानामा परेको पनि उनको भनाइ थियो । 

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बालबालिकाको क्षेत्रमा रहेका समस्या पहिचान गरी तिनको सामाधान गर्न आवश्यक ऐन कानुन बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस