नेपाल लाइफ इन्स्योरेन्सको २३ औं वार्षिकोत्सव सम्पन्न, रक्तदानदेखि वृक्षारोपणसम्म

सफल खबर संवाददाता

शनिबार, २२ बैशाख २०८१, १५ : ०२
नेपाल लाइफ इन्स्योरेन्सको २३ औं वार्षिकोत्सव सम्पन्न, रक्तदानदेखि वृक्षारोपणसम्म

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औं वार्षिकोत्सव देश व्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

यस सुखद् अवसरमा देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

साथै कम्पनीले रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको विरगञ्जमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणघाटमा ४३, हेटौंडामा ३२, ललितपुरमा ३८ र काठमाडौंमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८,  सुदूरपश्चिमको महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ ।

यस्तै केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्याङ्की प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्द्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोप्नका निम्ति रु ५ लाखको आर्थिक सहयोग तथा १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्पूर्ण ग्राहकको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ता, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका पदाधिकारीलगायत अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालामा धन्यवाद ज्ञापन गरेका थिए ।

आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनीले दत्त चित्त भएर लागि पर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस