सुकुम्बासी बस्तीमा डोजर चलाएर होइन, एउटा फ्लाट दिएर समस्या समाधान गरौं: अध्यक्ष ओली

सफल खबर संवाददाता

विहीबार, २० बैशाख २०८१, १६ : ०५
सुकुम्बासी बस्तीमा डोजर चलाएर होइन, एउटा फ्लाट दिएर समस्या समाधान गरौं: अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा रहेका सुकुम्बासीलाई एउटा–एउटा फ्लाट दिएर समस्या समाधान गर्नुपर्ने बताएका छन् । सुकुम्बासीका प्लास्टिकका छाप्रोमा डोजर चलाएर बहादुरी देखाउन नमिल्ने उनले बताए ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सक्कली सुकुम्बासी पहिचान गरी उनीहरूलाई बस्तीको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

‘सुकुम्बासी बस्ती हटाउनु मात्र समाधान होइन, जे गर्न पनि मिल्देन । व्यवस्थापन गर्नुर्छ, समस्या समाधान गर्नुपर्छ । मैले परारको साल भनेको थिए, सुकुम्बासीका प्लासिक्टका छाप्रा भत्काउन डोजर चलाउनु भनेको कर्कलो फाड्न बञ्चरो जलाए जस्तो हो ।

गरिबका बस्ती भत्काउन गरिबकै छोरालाई डोजर चलाउन नलगाउँ,’ उनले भने, ‘सुकुम्बासीलाई व्यवस्थापन गर्न पुग्ने जमिन छ ।

उपत्यकामा ४८ सय परिवार छ । सुकुम्बासी बस्तीको एउटा छेउमा १० तले घर बनाइदिउँ । एउटा किचन, बाथरुम, २–३ वटा कोठा सहितको सानो फ्लाट भए पुग्छ । त्यतिका दरले बनाउन नसकिने कुरा होइन । भत्काउने होइन बनाउने अभियान चलाऔं, फोहोर ठाउँलाई सफा गरौं ।’

 

ओलीले समस्या समाधानका नाममा सुकुम्बासीमाथि ज्यादती गरियो भने प्रतिरोधमा उत्रिने बताए । ‘हेप्ने मान्छे भेटिएन भनेर गरिब हेप्ने ? छाप्रामा गएर सुकुम्बासीका लालाबालालाई अन्याय गर्ने हुँदैन ।

नक्कली सुकुम्बासीलाई मान्य छैन, तर छोराछोरी डाक्टर– इन्जिनियर भए भन्दैमा आमा–बाबा सुकुम्बासी नहुने भन्ने हुँदैन । बरु दुख गरेर उनीहरूले छोराछोरीलाई डाक्टर बनाए भनेर प्रसंशा गर्नुपर्छ,’ उनले भने ।देशभरका भूमिहिनका समस्या समाधानका लागि पार्टीले सरकारमार्फत पहल गर्ने ओलीले बताए । 

प्रतिक्रिया दिनुहोस