श्रम सम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि हाे : अध्यक्ष ढकाल

सफल खबर संवाददाता

बुधबार, १९ बैशाख २०८१, १५ : ०१
श्रम सम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि हाे : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धी विवादहरु स्थानीय तहमा नै समाधान हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले यस्तो बताए । केन्द्र तथा प्रदेशहरुमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धी विवादहरु स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा, त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरुमा निकै कम भएको बताए ।

उनले नेपालमा पनि सामाजिक संवादमार्फत श्रम सम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्व पाउँदै गएको बताए । उनले सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रुपमा सलने गरेको बताए ।

अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प नरहेको जिकिर गरे । उनले लगानी सम्मेलनको एजेण्डालाई सबै राजनीतिक दल र नेताहरुले निजी क्षेत्रको लगानी र विकास बढाउने ऐक्यवद्धता गरेको भन्दै आगामी दिनमा आर्थिक क्रियाकलाप बढाउने र रोजगारी सिर्जना गर्ने ढोका खोलेको बताए ।

यस्तो छ ढकालको भनाइः

नेपालको श्रम सम्बन्ध जुन रुपमा विकास भइरहेको छ, त्यसलाई अन्य मुलुकले पनि निकै अभिरुचीका साथ हेर्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीमा देख्न सकिन्छ । यो हाम्रा लागि सुखद् अवसर पनि हो । सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रुपमा लिने गरेका छन् ।

हामीले सुरु गरेका असल अभ्यास र सहकार्यको निरन्तरता र साझा हितका लागि काम गर्ने संस्कृतिको विकास गर्न हामी सबैको प्रतिवद्धताको लागि म आग्रह गर्दछु । गएका पाँच सात वर्ष यता श्रम सम्बन्धले नयाँ मोड लिएको कुरा हामीले अनुभव गरेका छाँै ।

फलस्वरुप केन्द्र तथा प्रदेशहरुमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धि विवादहरु स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा, त्रिपक्षिय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरुमा निकै कम आएको हामीले महसुस गरेका छाैं । नेपालमा पनि सामाजिक संवादमार्फत श्रम सम्बन्धि समस्याको समाधान गर्ने विषयले थप महत्व पाउँदै गएकोमा खुशी छाैं ।

प्रतिक्रिया दिनुहोस