काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो दर बजार मूल्यमा आधारित हो ।
एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो ।
केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ ।
चालु आव धान उत्पादन बढ्नु, ऊर्जा उत्पादनमा हुने वृद्धि सकारात्मक रहेको देखिएको एडीबीले जनाएको छ । निर्माण र व्यापार केही सुस्ताए पनि यस क्षेत्रमा सुधार भए अर्थतन्त्र अझ धेरै विस्तार हुने उसको भनाइ छ ।
एडीबीका अनुसार पर्यटक आगमनले सकारात्मक प्रभाव पारिरहेको छ । यसले रोजगारीमा समेत ठूलो योगदान गर्छ । एडीबीले भारतको आर्थिक वृद्धि दर ७ प्रतिशत हुने अनुमान गरेको छ ।
‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधार भएका कारण नेपालको आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ,’ नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने, ‘यसबाहेक सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पूँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०/८१ अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु भई २०७९/८० मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण छ ।’
एडीबी आउटलुक अनुसार कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले पनि गति दिने छ । धान उत्पादन वृद्धि भए पनि हिउँदे वर्षा कम हुँदा हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि २०७९/८० को २.७ प्रतिशतको दाँजोमा २.८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने छ ।
त्यसैगरी पेट्रोलियम पदार्थ मूल्यमा देखिएको गिरावट र भारतमा महँगी न्यूनीकरणसँगै नेपालमा औसत महँगी गत आर्थिक वर्ष ७.७ प्रतिशतको दाँजोमा चालु आव ६.५ प्रतिशतमा ओर्लने प्रक्षेपण एडीबीको छ ।
आउटलुक अनुसार नेपालको वाह्य क्षेत्र जोखिम सापेक्ष रूपमा नियन्त्रणमा छ । चालु आव पहिलो ६ महिना बचतमा रहे पनि चालु खता पुनः घाटामा जान सक्ने देखिन्छ । अघिल्लो आवको सोही अवधिसँग दाँज्दा वार्षिक व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह २२.६ प्रतिशतले बढेको छ भने चालु खाता १ अर्ब २० करोड अमेरिकी डलर बचतमा छ ।
यद्यपि, चालु आर्थिक वर्ष बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले चालु खाता घाटा कुल गार्हस्थ उत्पादन (जीडीपी) को शून्य दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण आउटलुकको छ ।
‘विश्व अर्थतन्त्रमा देखापर्न सक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई चालु आवको आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,’ एडीबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भने ।
आउटलुकमा गहिरिँदो भूराजनीतिक हलचलले आपूर्ति शृङ्खलामा हुन सक्ने अवरोधले विश्वव्यापी मुद्रास्फीति र वित्तीय अवस्थामा कडाइ सिर्जना गर्न सक्छ । यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धि तल धकेल्न सक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ चैत्र २०८०, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत
विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने
किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य