कांग्रेसले गृहमन्त्रीलाई टार्गेट गर्नु सत्ता गठबन्धनमा भ्वाँङ पार्ने अरण्य रोदन : सुर्य थापा

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, १२ : ३८
कांग्रेसले गृहमन्त्रीलाई टार्गेट गर्नु सत्ता गठबन्धनमा भ्वाँङ पार्ने अरण्य रोदन : सुर्य थापा

काठमाडौं । नेकपा एमालेका सांसद सुर्यबहादुर थापाले संसदमा सहकारीको विषयमा गृहमन्त्रीलाई मात्र टार्गेट गर्नु सत्ता गठबन्धनमा भ्वाँङ पार्न कांग्रेसको अरण्य रोदन भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले सुर्यदर्शन सहकारीबारे कास्की जिल्ला अदालतमा बिचाराधीन मुद्धामा बोल्न नहुने थाहा हुँदा हुँदैपनि त्यो विषय मात्र उठाएको बताए ।

सांसद थापाले भने–‘सहकारीको विषय आज घर घरको, समाजको, राष्ट्रको बहस भएको छ । हामी यसमा बहस केन्द्रीत होस भन्ने चाहन्छौँ । तर व्यक्ति केन्द्रीत भइरहेको छ । कास्की जिल्ला अदालतमा बिचाराधीन विषय हो सुर्यदर्शन सहकारीसँग सम्बन्धित यो विषय । प्रतिपक्षलाई यो संसदमा प्रतिनिधित्व गर्नुहुने सबै सांसदहरुलाई संविधान बमोजिम अदालतमा बिचाराधीन मुद्धामा यहाँ बहस हुँदैन भन्ने थाहा छ, तर हामीले यो विषय थाहा पाई पाईपनि उठाइरहेका छौँ ।’ उनले संसदमा सहकारीको विषय कुनै निष्कर्षमा पुग्नका लागि नभएको बताए ।

उनले सरकारका निकायलाई निर्देशन गरेर वा कानुन बनाएर एकजनापनि बचतकर्ता नठगिने सुनिश्चितता सरकार र संसदले गर्नुपर्ने बताए । यदी त्यसो गर्न नसक्ने हो सत्ता गठबन्धनलाई भ्वाँङ पार्ने अरण्य रोदनमात्रै हुने तर्क गरे । उनले कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले गठबन्धन दलको नेताको रुपमा बोलेको भनेको प्रति के प्रधानमन्त्रीले प्रतिपक्षको नेताको रुपमा बोल्नुपर्ने भन्दै प्रश्न गरे ।

उनले समस्याग्रत सहकारी घोषणा गरेर बचतकर्ताको रकम फिर्ता गर्ने र ठगी गर्नेलाई कारवाही गर्नुपर्ने बताए । उनले गृहमन्त्रीलाई ब्यक्तिकेन्द्रीत प्रहार नगरी सहकारीका समस्या समाधान केन्द्रीत हुन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस