माओवादी नेता कालीबहादुर खामलाई चितवन लगियो

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, ११ : २५
माओवादी नेता कालीबहादुर खामलाई चितवन लगियो

काठमाडौं। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई चितवन लगिएको छ ।काठमाडौंको ठमेलबाट पक्राउ परेका जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमाण्डर खामलाई चितवन लगिएको हो ।

व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मङ्गलवार साँझ पक्राउ गरेको थियो ।उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।​

विसं २०६५ वैशाख २८ गते राति ८ बजेको समयमा जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमाण्डर खामविरुद्ध काठमाडौं कोटेश्वर निवासी श्रेष्ठलाई अपहरण गरी हत्या गरेको आरोप छ । 

श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी विसं २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी थिइन् ।त्यसपछि प्रहरीले खामको खोजी जारी राखेको थियो ।

प्रतिक्रिया दिनुहोस