पार्टीका मन्त्रीलाई ओलीको निर्देशन - जनताले देख्ने गरी काम गर्नुस्

एमाले संसदीय दलको बैठक

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १६ : ३८
पार्टीका मन्त्रीलाई ओलीको निर्देशन - जनताले देख्ने गरी काम गर्नुस्

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले देख्ने र अनुभव गर्ने गरी काम गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई निर्देशन दिएका छन् । अपारदर्शी र भ्रष्ट क्रियाकलापमा संलग्न नहुन पनि उनले मन्त्रीहरूलाई निर्देशन दिए ।

नेकपा एमाले संसदीय दलको बैठकलाई मंगलवार संसद् भवन नयाँ बानेश्वरमा सम्बोधनका क्रममा ओलीले अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गरेका हुन् ।‘मन्त्रीजीहरूले जनताले देख्ने गरी अनुभव गर्ने गरी सकारात्मक काम गर्नुस् ।

अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गर्छु । कुनै प्रकारको अवगाल आउने काम नहोस्’, ओलीले भने, ‘अपारदर्शी र भ्रष्ट क्रियाकलाप गर्नु हुँदैन, अरूले गरे पनि सहँदैनौं । भ्रष्टाचार मुक्त र सुशासन युक्त देश हुनुपर्छ । स्वच्छता र पारदर्शी हुनुपर्छ ।’

देशको हितमा काम गर्न उनले मन्त्रीलाई निर्देशन दिए । ‘जे गरे पनि विरोध गर्ने विरोधी छन्, ती विरोध गरिरहन्छन् । विपक्षी बेन्चमा बस्न लायक छन् । आफू सत्तापक्षमा हुँदा हाम्रो बदनाम गर्न खोजे, हामी त्यस प्रकारका गलत क्रियाकलाप गर्दैनौं ।’

 

प्रतिक्रिया दिनुहोस