धनगढी। पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठले सरकार छाड्न निर्देशन दिएपछि नागरिक उन्मुक्ति पार्टी अन्तर्गत सुदूरपश्चिम प्रदेश सभामा रहेको संसदीय दलले बैठक बोलाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका विषयमा निर्णय गर्न बैठक बोलाएको दलका नेता घनश्याम चौधरीले बताए । ‘केन्द्रीय अध्यक्षको निर्देशनपछि आजै दलको बैठक बोलाएको छु । सुदूरपश्चिम सरकारमा रहने वा नरहने भन्ने विषयमा हामी निचोड निकाल्छौं', चौधरीले भने ।
नेपाली कांग्रेस का कमल शाह नेतृत्वको सरकारलाई नागरिक उन्मुक्तिको साथ छ । शुक्रवार राति मात्रै मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका दुई मन्त्री र एक राज्य मन्त्री नियुक्त गरेका छन् ।
नाउपा संसदीय दलका नेता समेत रहेका घनश्यामले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएका छन् भने खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री बनाइँदा इन्दिरा गिरीले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् । रामेश्वर चौधरी यस अघिबाटै भूमि व्यवस्था कृषि तथा सहभागी मन्त्रीकै जिम्मेवारीमा छन् ।
कृषि राज्यमन्त्री रहेका कैलाश चौधरीलाई भने हटाइएको छ । उनको ठाउँमा गिरीलाई जिम्मेवारी दिइएको छ । पार्टीमा छलफल गरेर सरकारमा सहभागी भएको अवस्थामा पार्टी अध्यक्षले एक्कासि सरकारबाट बाहिरिन निर्देशन दिएपछि आफूहरू समस्यामा परेका संसदीय दलका नेता चौधरी बताउँछन् ।
‘हामी समस्यामा परेका छौं । यद्यपि बैठकमा छलफल गरेर हामी निर्णय गर्छौँ', चौधरीले भने ।नागरिक उन्मुक्ति पार्टीले सरकार छोड्ने निर्णय गरेको खण्डमा कमल शाह नेतृत्वको सरकार ढल्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १३ : २८
लेखकबाट थप