किशोरी हिंसाको श्रृँखला रोकिएन, विद्यालय हिडेकी किशोरी ६ दिनदेखि बेपत्ता

बुधबार, २७ भदौ २०७५, ११ : ००
किशोरी हिंसाको श्रृँखला रोकिएन, विद्यालय हिडेकी किशोरी ६ दिनदेखि बेपत्ता

कपिलवस्तु । घरबाट कापीकलम बोकेर विद्यालय हिडेकी कपिलवस्तु वाणगंगा नगरपालीकाकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे ६ दिनदेखी सम्पर्क विहीन भएकी छिन् । भदौ २१ गते विद्यालय जान भनेर हिँडेकी बन्जाडेको अहिलेसम्म अत्तोपत्तो नभएको घरपरिवारले जनाएको छ ।

विद्यालय जान घरबाट निस्किएकी छोरी नफर्किएपछि आमा सुनिताले भदौ २२ गते इलाका प्रहरी कार्यालय प्रिपामा निवेदन दिएकी थिइन् । निवेदन पछि प्रहरीले खोजीकार्य तीब्र बनाइरहेको प्रहरी कार्यालय प्रिपाका इन्सपेक्टर चन्द्र केसिले जानकारी दिए । उनले भने, ‘उनको फोटो र हुलिया सहित सबैतिर परिपत्र गरेका छौं । खोजतलास तीव्र बनाएका छौं ।
प्रत्यक्षदर्शीका अनुसार २१ गते दिन बसन्ता बाग्लुङ बुर्तिवाङ माइती घर बताउने सीता परियारसँग देखिएकी थिइन् । सीता पनि परिवारको सम्पर्कमा नआएको भन्दै उनका श्रीमान शिव परियारले समेत इलाका प्रहरी कार्यालय पिप्रामा निवेदन दिएका छन् । इन्सपेक्टर केसीले भने, ‘बसन्ताको आमा सुनिता र सीताको श्रीमान शिवले संयुक्त रुपमा निवेदन दिएका छन् । सुनिताले छोरी बसन्ताको फोटो पनि दिएकी छिन् । तर, शिवले भने फोटो दिएका छैनन्, टेलिफोन नम्बर मात्र छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस