महासचिव पाण्डेयको नागरिकता र पासपोर्टबारे सांसदले उठाए प्रश्न

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, १५ : ५१
महासचिव पाण्डेयको नागरिकता र पासपोर्टबारे सांसदले उठाए प्रश्न

काठमाडौँ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीबारे प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रश्न उठाएका छन् ।शुक्रवारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले महासचिव पाण्डेयको नागरिकता र राहदानीबारे प्रश्न उठाएका हुन् ।

सापकोटा र बजगाईँ सत्तारुढ सांसद हुन् । बैठकमा सांसद सापकोटाले संघीय संसद्का महासचिव पाण्डेयका तीन वटा नागरिकता र दुई वटा पासपोर्ट रहेको विषय संसद्‍मा औपचारिक रूपमा उठ्नुपर्ने भन्दै प्रतिपक्ष दलका सांसदहरूले त्यसमा किन ध्यान नदिएको भन्दै व्यङ्ग्य गरे ।

‘संसद्का महासचिवका तीन वटा नागरिकता र दुई वटा पासपोर्ट पनि तपाईंहरूले उठाएका कुरामा थप्नुहोस् !’, सापकोटाले विपक्षी दलका सांसदहरुलाई लक्षित गर्दै प्रश्न गरे, ‘संसद्‍का महासचिवको तीन वटा नागरिकता छ, दुई वटा पासपोर्ट छ तपाईंहरूले त्यो थप्नुहुन्न ?,’

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पनि सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकताबारे प्रशंग कोट्याए । उनले महासचिव पाण्डेयको नागरिकता छानबिनको माग गर्दै भने, ‘पाण्डेयको  नागरिकता विवादले भ्रम सृजना गरेको छ । यसको पनि उचित छानबिन हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस