सामुदायिक विद्यालयलाई छात्रवृत्ति रकम प्रदान

सोमबार, २५ भदौ २०७५, १७ : १३
सामुदायिक विद्यालयलाई छात्रवृत्ति रकम प्रदान

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ३ मा रहेको ब्रम्हा प्राथमिक विद्यालयलाई सहयोग जुट्ने क्रम जारी छ । 
विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रममा सोमबार चितवनको नारायणी मोटर्स, लायन्स तथा लियो क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ नारायणगढ नारायणीले सहयोग गरेका छन् । बाल दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ७० हजार रुपैयाँको छात्रवृत्ति तथा विद्यालयको लागि एक थान प्रिन्टर प्रदान गरिएको हो । गरिब तथा उत्पीडित समुदायका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयको अवस्था दयनीय भएको जानकारी पाएपछि विद्यालयलाई सहयोग गरेको लायन्स क्बल अफ नारायणगढ बालकुमारीका अध्यक्ष एवम् नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले बताए । 
आफूहरुले विद्यार्थीहरुको लागि प्रदान गरेको छात्रवृत्ति रकम विद्यार्थीहरुको अवस्था हेरेर उनीहरुलाई प्रदान गर्न समेत चुकेले विद्यालय परिवारलाई आग्रह गरेका छन् । छात्रवृत्ति तथा प्रिन्टर हस्तान्तरण पश्चात लायन्स क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष अनुषा चुकेले आफूहरुको सहयोगले बालबालिकाहरुको शिक्षामा सहयोग पुग्दा खुसी लाग्ने बताइन् । विभिन्न विद्यालयहरुमा छात्रवृत्ति तथा अन्य शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको उल्लेख गर्दै चुकेले आगामी दिनमा समेत विद्यालयलाई सहयोग गर्दै जाने प्रतिवद्धता जनाइन् । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले विद्यालयमा शिक्षक, अभिभावक, सञ्चालक समितिको छलफल गरि विद्यार्थीको अवस्था हेरेर विद्यार्थीहरुलाई छात्रवृत्ति वापतको रकम प्रदान गरिने बताए । विभिन्न व्यक्ति तथा दाताहरुको सहयोगले विद्यालय सञ्चालन हुँदै आएको उल्लेख गर्दै केसीले दाताहरुले दिएको रकमको उचित सदुपयोग गर्ने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगुराम बोटेले पीछडिएको समुदायका बालबालिका पढ्ने विद्यालय भएका कारण विद्यालयको अवस्था नीकै दयनीय भएको बताए । 

प्रतिक्रिया दिनुहोस