अर्को चुनावमा काँग्रेस एक्लै लड्छ : नेतृ डा.संग्रौला

सफल खबर संवाददाता

बुधबार, १७ माघ २०८०, १५ : ५६
अर्को चुनावमा काँग्रेस एक्लै लड्छ : नेतृ डा.संग्रौला

पाल्पा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी आम निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएकी छन । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ संग्रौलाले २०८४ सालको निर्वाचनमा पार्टी एक्लै लड्ने दावी गरिन् ।

उनले भनिन् ‘अब काँग्रेस एक्लै चुनाव लड्छ । काँग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा काँग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।’ कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनले त्यसको संकेत गरेको संग्रौलाले दाबी गरिन् ।

निर्वाचनअगाडि गठबन्धन गर्न नहुने उनले जिकिर गर्दै भनिन् ‘बहुमत कुनै पार्टीको आउँदैन, निर्वाचनपछि आवश्यकताका आधारमा मापदण्ड बनाएर गठबन्धन गर्नुपर्छ ।’ नेतृ संग्रौलाले अहिलेको सरकारले गरेका कमी कमजोरीको दोष आफ्नो पार्टीले नलिने पनि बताइन् । उनले प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न नसकेको भन्दै नराम्रो कामको भारी काँग्रेसले नबोक्ने स्पष्ट पारिन् । डा।संग्रौलाले औलामा गर्न सकिने गरी जनहितका विषयमा प्रचण्ड सरकारले राम्रो काम गर्न नसकेको बताइन् ।

‘कांग्रेसबाट सहभागी मन्त्रीलाई पार्टीका नेताले समेत सुझाव दिएका छैनन् । सरकारमा सहभागी मन्त्रीहरूले पार्टीसँग पनि कुनै सरसल्लाह गरेको पाइँदैन’, उनले भनिन् ‘व्यक्तिवादी सोचबाट काम गरिरहेका हुँदा उनीहरूले गरेका गल्तीको जिम्मेवारी पार्टीले लिँदैन ।’ मिश्रित निर्वाचन प्रणालीको कारण नेपालमा कुनै पार्टीको पनि बहुमत नआउने अवस्थाको कारण संविधान परिवर्तन गरी एकल पार्टीको बहुमत आउने गरी समाधान निकाल्नु पर्ने समेतमा डा।संग्रौला जोड दिइन् । उनले भनिन् ,  ‘समानुपातिक निर्वाचनका कारण महिला, जनजातीहरु अधिकारबाट बञ्चित हुँदै गएका छन्, यसो हुनु राम्रो होइन ।’

‘समुदायमा काँग्रेस’ अभियान कार्यक्रमको लागि पूर्वउपसभापति विमलेन्द्र निधी, डा।संग्रौला केन्द्रीय सुपरीवेक्षकको रुपमा र केन्द्रीय सदस्य अब्दुल रजाक केन्द्रीय प्रतिनिधीको रुपमा पाल्पा सहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा खटिएकी छन ।

नेपाली काँग्रेस पाल्पाले मंगलबारदेखि तानसेन नगरपालिका –६ गन्धर्व टोलबाट ‘समुदायमा काँग्रेस’ अभियान शुरु गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस