देउवा पुत्रको बिहेमा खादा माला निषेध, आर्मी अफिसर्स क्लबमा पार्टी

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, ११ : ११
देउवा पुत्रको बिहेमा खादा माला निषेध, आर्मी अफिसर्स क्लबमा पार्टी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवाको बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।

देउवा पुत्रको बिहे माघ २१ गते बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ ।  उक्त भोटमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ ।

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ ।   त्यसअघि आफन्त र निकटस्थहरुलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ । 

 

देउवा तथा आरजु राणा (देउवा) पुत्र जयवीरको सञ्जीव भक्त श्रेष्ठ  र प्रतिभा श्रेष्ठको छोरी शिवाना श्रेष्ठसँग हुन लागेको हो ।प्रधानमन्त्री पदबाट हटेपछि देउवा धुम्बाराहीस्थित भाडाको घरमा बस्दै आएका थिए । तर, छोरोको बिहे आफ्नै घरबाट गर्ने तयारीका साथ उनी गत माघ ३ गते बूढानीलकण्ठस्थित निवास सरेका थिए । घर मर्मतको काम सकेर उनी निवास सरेका हुन् ।

इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए । जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्व परराष्ट्र सचिव समेत रहेका केदारभक्त श्रेष्ठकी नातिनी हुन् । केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए। जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ ।

जयवीरले ब्लुप्रिन्ट ट्रेडिङ प्रालिमार्फत केही वर्षदेखि यस्तो व्यवसाय गरिरहेका छन् । यता शिवाना सौन्दर्य सामग्री (ब्युटी—प्रडक्ट) को व्यापारमा छिन् । उनले केही कभर गीतमा पनि आवाज दिएकी छन् । जयवीर र शिवानाले लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस