भरतपुर । चितवनको भरतपुर महानगरपालिकाभित्रका ‘बर्थिङ सेन्टर’बाट यो आर्थिक वर्षमा एक सय २६ जनाले प्रसूति सेवा लिएका छन । महानगरका पाँच स्वास्थ्य संस्थामा रहेका बर्थिङ सेन्टरबाट पुस मसान्तसम्म एक सय २६ जनाले सेवा लिएका हुन् ।
मेघौली स्वास्थ्य चौकीबाट ४५, जगतपुर स्वास्थ्य चौकीबाट २३, गुन्जनगर स्वास्थ्य चौकीबाट ३४, शारदानगर स्वास्थ्य चौकीबाट १६ र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट आठ जना महिलाले प्रसूति सेवा लिएका छन । गत वर्ष यी स्वास्थ्य संस्थाबाट दुई सय २४ जनाले प्रसूति सेवा लिएका थिए ।
महानगरका सबै स्वास्थ्य संस्थामा सुत्केरी गराउन तालिमप्राप्त स्वास्थ्यकर्मी राखिएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले बताए । स्वास्थ्य संस्थामा चौबीसै घण्टा सेवा उपलब्ध रहेको भन्दै उनले महानगरले प्रसूति सेवा लिन आउनेलाई एम्बुलेन्स खर्चको समेत व्यवस्था गरेको जानकारी दिए । “ दुई हजारसम्म एम्बुलेन्स खर्च उपलब्ध गराउँछौँ”, उनले भने, “जन्मदर्ता प्रमाणित गरेपछि वडाबाटै रकम प्राप्त गर्न सकिन्छ ।” यसबाहेक सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको आठपटक स्वास्थ्य संस्थामा गर्भजाँच गराएको आठ सय र सुत्केरी गराएबापतको दुई हजार पनि उपलब्ध गराउँदै आएको भट्टले बताए ।
सुत्केरी भएपछि पनि स्वास्थ्य संस्थाबाट तीन दिन, सात दिन र छ हप्तामा स्वास्थ्यकर्मीले घरमै पुगेर सेवा प्रदान गर्ने गरेका छन् । गुञ्जनगरबाहेक सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने महिलाका लागि निःशुल्क प्रयोगशालाको व्यवस्था गरिएको अधिकृत भट्टले बताए ।
मेघौली स्वास्थ्य चौकीकी स्वास्थ्य स्वयम्सेविका बिष्णुमाया राना थापाले गरिब विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारबाट प्रसूति सेवा लिनका लागि आउने गरेको बताए । पछिल्लो समय शल्यक्रिया गरेर प्रसूति हुने दर बढेका कारण पनि बर्थिङ सेन्टरबाट सेवा लिने घटेको बताए ।
सामान्य अवस्थामा भरतपुर अस्पताल जानु नपर्ने भन्दै स्थानीयस्तरबाटै सेवा लिन नागरिकलाई सचेत गराउनुपर्ने उनको भनाइ छ । मेघौली स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट प्रसूति सेवा लिएकी भरतपुर–२८ की कमली कुमालले यहाँ राम्रो सेवा पाएको बताए । उनले आफूले यहाँ नै नियमित गर्भजाँच गराएको भन्दै रातको समयमा पनि स्थानीय स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गरेपछि खुसी लागेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ११ माघ २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम