सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बसपार्क क्षेत्रमा यातायात व्यवसायीहरुबिच झडप भएको छ । टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिहरूबिच झडप भएको हो ।
वीरेन्द्रनगरमा भर्खरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालि र संयुक्त यातायात व्यवसायीहरूका बिचमा झडप भएको प्रहरीको भनाई छ । शनिवार बिहान भिजिट कर्णाली यातायातका व्यवसायीहरूमाथि संयुक्त यातायातका व्यक्तिहरूले हातपात गरेको बुझिएको छ ।
भिजिट कर्णालीको टिकट काट्ने ठाउँ बसपार्क भन्दा केही अगाडि रहेको बुलबुले गेट नजिकै काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको उक्त प्रालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए । हातपातबाट भिजिट कर्णाली यातायातमा काम गर्ने दुई जना घाइते भएको र उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
दोस्रो पक्षले भने सिटी बसपार्कबाटै टिकट सञ्चालन गर्नुपर्ने बताएका छन् । तर भिजिट कर्णाली यातायातलाई भने वीरेन्द्रनगर नगरपालिकाले चलानी नम्बर २८९० का अनुसार अर्को निर्णय नहुँदासम्मलाई बसपार्क बाहिरैबाट सेवा सञ्चालन गर्ने अनुमति दिएको थियो । सोही अनुसार आफूहरूले बुलबुले गेट नजिकबाट सेवा सञ्चालन गरेको अध्यक्ष शाहीले बताए ।
‘हामीमाथि बडो अन्याय भयो, ’ उनले भने, ‘ हामीलाई उहाँहरूले गुन्डाको प्रयोग गरेर कुटपिट गर्नुभयो । यो कहाँको न्याय होला ? काम गरेर पनि खान नपाउनु ।’
कांक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश कुमार सापकोटाले पनि बसपार्कभित्रबाट टिकट काट्नुपर्छ भन्ने विषयलाई लिएर विवाद भएको बताउँछन् । ‘हामीले संयुक्त यातायात भित्र बसेर काम गरिरहेकै छौँ,’ उनले भने, ‘बाहिरबाट मान्छे हाल्दा राम्रो हुँदैन कि भनेर भनिएको हो । यसै विषयमा सामान्य विवाद भएको हो ।’
घटनाको विषयलाई लिएर यतिबेला बसपार्क वरपरको क्षेत्र तनावग्रस्त छ । त्यहाँ ठुलो मात्रामा प्रहरीसमेत परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ माघ २०८०, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
महेन्द्र माेरङ क्याम्पसमा झडप : नेविसंघ जिल्ला सभापतिकाे टाेलीमाथि स्ववियू सभापतिकाे नेतृत्वमा हमला
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते