चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग-व्यवसायमा लागेकाहरूले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताएका छन्।
चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी-व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए ।
अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेका बताउँदै उनले व्यवसाय गर्नेहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ भने । “उद्योगी व्यवसायी नै नकारात्मक सोचका साथ हिँडेपछि कसरी अर्थतन्त्रमा सुधार हुन्छ ”, उनले प्रश्न गरे । नियोजित किसिमले झुट्टा प्रचार हुँदा समाजमा नकारात्मक प्रभाव परेको उनले बताए ।
अर्थतन्त्रका समस्या पूर्णरूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको उनको भनाइ थियो । उनले भने “अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन । पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ ।” सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उनले बताए ।
बैंकहरुको लगानी शेयर बजार र जग्गामा धेरै हुँदा अहिले समस्या देखिएको भए पनि यसलाई खुकुलो गरिएको बताउँदै उनले भने “सबै लगानी अनुत्पादक क्षेत्रमा भएपछि राष्ट्र बैंकले कठोर मौद्रिक नीति बनायो जसका कारण समस्या आयो । अहिले यसलाई बिस्तारै खुकुलो बनाउँदै लगिएको छ ।”
फरक प्रसङ्गमा अर्थमन्त्रीले निर्माण व्यवसायीलाई सरकारले माघअघि नै भुक्तानी दिने र माघपछि सबैको दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । विप्रेषणको भरमा मात्र अर्थतन्त्र चलायमान नभएको बताउँदै उनले त्यसमा राजश्वको पनि योगदान रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताए। उद्योगी-व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानका लागि सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिए । अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्नेगरी काम गर्नुपर्ने उनले बताए । अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजी क्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनैपर्छ भने ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश सरकार उद्योगी-व्यवसायीको पक्षमा रहेको बताए । त्यस अवसरमा आर्थिक पत्रकारिता पुरस्कारबाट आर्थिक अभियान दैनिकका चितवन संवाददाता सूर्यप्रसाद अधिकारीलाई सम्मानित गरिएको थियो । उनलाई नगद रु. ५१ हजार सहित सम्मानित गरिएको हो ।
दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै साधारण सभा यही पुस २३ गते सम्पन्न हुनेछ । सङ्घको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र उपाध्यक्ष शिरिष पन्तबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ पुस २०८०, १८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल
राष्ट्र बैंकका मौद्रिक नीतिका व्यवस्थामा सरकारले हस्तक्षेप गर्न मिल्दैन: अर्थमन्त्री
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु