काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ । आज नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अर्ब ४९ करोड १५ लाख रहेको बताए । उनले प्राधिकरणको आय एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एड्ओटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी भएको बताए ।
पुँजीगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालन खर्चतर्फ ४ अर्ब २२ करोड ९९ लाख ,आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको अधिकारीले उल्लेख गरे । उनले प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको बताए । प्राधिकरणका महानिर्देशक अधिकारीले हवाई उडानमा यात्राहरूको सङ्ख्या पनि ३६४ प्रतिशत र कार्गो पनि १०० प्रतिशतले वृद्धि भएको बताए ।
उनले प्राधिकरणको आर्थिक वर्ष २०५६÷५७ को आम्दानी ९१ करोड ८४ लाख रहेकोमा आर्थिक वर्ष २०७९÷८०मा आइपुग्दा १३ अर्ब ५१ करोड पुगेर १५ गुणाले वृद्धि भएको बताए । सन् २०२३ को अन्त्यमा आइपुग्दा ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको सङ्ख्या ५५ पुगेको उनले बताए । उनले करोनाका कारण आर्थिक रूपमा धराशायी हुन पुगेको उड्डयन क्षेत्र २०२२ मा सुधारोन्मुख हुँदै चालु अवस्थामा पुरानै अवस्थामा फर्किएको उल्लेख गरे । सन् २०२२ को नोभेम्बरसम्ममा त्रिभुवन र भैरहवा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या २९ लाख ४५ हजार ५ सय ४० रहेकोमा सन् २०२३ नोम्बेम्बरसम्ममा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडानमार्फत यात्रा गर्ने यात्रुको सङ्ख्या ४१ लाख ५४ हजार ३९३ पुगेको उनले बताए ।
उनले गत वर्षको सोही अवधिको तुलनामा यात्रुको सङ्ख्यामा ४१.०४ प्रतिशतले वृद्धि भएको तथ्याङ्क प्रस्तुत गरे । आन्तरिक उडानतर्फ सन् २०२२ को नोभेम्बरसम्ममा कुल ५६ लाख ६८ हजार ९४१ हवाई यात्रु यात्रा गरेकोमा सन् २०२३ नोभेम्बरसम्ममा ७७ लाख ९४ हजार २१७ पुगेर ३७.४८ प्रतिशतले वृद्धि भएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उड्डयनको नयाँ भवनमा अख्तियारको छापा