चटके नेताहरूका कारण पार्टी पंक्ति नै बदनाम : मुख्यमन्त्री कार्की

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०८०, १० : २६
चटके नेताहरूका कारण पार्टी पंक्ति नै बदनाम : मुख्यमन्त्री कार्की

बिराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले नेताहरू समाजिक सञ्जालमा लाइक र कमेण्टका लागि मात्रै बोल्ने गरेकाले राजनीतिक दल कमजोर भएको बताएका छन् ।

नेपाली कांग्रेस उदयपुरको कटारीमा शुक्रबार आयोजित जिल्ला सम्मेलनमा मुख्यमन्त्री कार्कीले पार्टीका नेतृत्व तहका नेताहरू भोट लिएर जाने तर फर्केर नआउने, जे मन लाग्यो त्यो बोल्ने तर त्यसलाई पूरा नगर्ने गरेकाले अहिले कार्यकर्ता माझ पार्टी कमजोर भएको बताएका हुन् ।

‘पार्टीका जिम्मेवार पदमा बस्नेहरूले नै अहिले पार्टी सकिएको सार्वजनिक अभिव्यक्ति दिँदै आउनु भएकोले पनि पार्टीलाई कमजोर बनाइरहेको छ, उनले भने, जनतालाई सपना देखाएर पूरा नगर्ने जिम्मेबार पदमा बसेका चटके नेताहरूका कारण पार्टी पंक्ति नै बदनाम भइरहेको छ ।’

मुख्यमन्त्री कार्कीले पार्टीलाई कमजोर बनाउने नेताहरूले दिँदै आएको अभिव्यक्ती जस्तो तल्लो तहमा अवस्था नभएको सबैलाई बुझ्न जरूरी रहेको बताए । 
आफ्ना छोराछोरीको वास्ता नगरी समुदायभरिका बच्चा जन्माउन र खोप लगाउन खटिने महिला स्वास्थ्य स्वयं सेविकाको सम्मानका साथै नगद प्रदान गर्न बजेट ल्याएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस