कोशी प्रदेश

नयाँ सरकार गठन आह्वानको तयारी, एमाले–माओवादी संयुक्त छलफलमा

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, ११ : २२
नयाँ सरकार गठन आह्वानको तयारी, एमाले–माओवादी संयुक्त छलफलमा

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने समय गुजारेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत नलिई ३० दिनको समय गुजारेका हुन् । विश्वासको मत लिने समय गुजारेका मुख्यमन्त्री कार्की राजीनामा पनि नदिने अडानमा छन् ।

२६ चैतमा समर्थन फिर्ता लिएका एमाले माओवादी केन्द्रले अल्पमतमा परेको ३० दिन भित्र विश्वासको मत लिनका लागि ७ वैशाखमा प्रदेशसभाबाट संकल्प प्रस्ताव नै पारित गरेका थिए । संकल्प प्रस्ताव पारित भए पनि मुख्यमन्त्रीले वास्ता गरेनन् । सरकार गठनको अन्तिम विकल्प अनुसार आफू मुख्यमन्त्री भएको दाबी गर्दै कार्कीले विश्वासको मत लिन बाध्य नहुने र राजीनामा पनि नदिने अडानमा बसेका छन्।

मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि स्वत पदमुक्त भएकाे प्रदेशका प्रतिपक्षी दल एमाले माओवादी केन्द्रको दाबी छ ।

मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि अब नयाँ सरकार गठनको प्रारम्भ हुनुपर्ने उनीहरुको माग छ । अब कसरी अघि बढ्ने भन्ने विषयमा एमाले–माओवादीको संयुक्त बैठक बसिरहेको छ ।

मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि कोशी प्रदेशमा नयाँ सरकार गठन आह्वानको तयारी भएको छ । संविधानको अन्य उपधारा अनुसार गठन भएका मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत नलिए स्वत पदमुक्त हुने प्रावधान र केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दा सर्वाेच्च अदालतको संवैधानिक इजलासको व्याख्या अनुसार केदार कार्की स्वत पदमुक्त भएकाले नयाँ सरकार गठनका लागि आह्वानका लागि प्रदेश प्रमुखले तयारी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस