भरतपुर महानगरपालिकाको नगर प्रहरीको कमाण्डमा डिएसपी

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०८०, १७ : २७
भरतपुर महानगरपालिकाको नगर प्रहरीको कमाण्डमा डिएसपी

चितवन । भरतपुर महानगरको नगर प्रहरी (डिएसपी) को कमाण्डमा आएको छ ।

महानगरपालिकामा नगर प्रहरीले गर्नुपर्ने कामको चाप वृद्धि भएसँगै नगर प्रहरी निरीक्षकको कमाण्डलाई परिवर्तन गरी नगर प्रहरी नायब उपरीक्षक (डिएसपी) नियुक्त गरेको हो । महानगरपालिकाले नयाँ २८ जना नगर प्रहरी थप गरेसँगै नगर प्रहरीको संख्या ७३ पुगेको महानगरका प्रशासन प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ थप भएकोमा नगर प्रहरी नायब उपरीक्षक १ जना, नगर प्रहरी नायब निरीक्षक १ जना, नगर प्रहरी सहायक निरीक्षक ३ जना र नगर प्रहरी जवान २३ जना रहेका छन् । यसअघि महानगरपालिकामा विभिन्न पदमा ४५ जना नगर प्रहरी कार्यरत रहेका थिए ।  

शुक्रबार नगर प्रहरीको स्वागत तथा नियुक्तपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगर प्रहरीको काम र कर्तव्यलाई आत्मसाथ गर्दै सुन्दर, सभ्य र सुसंकृत महानगर बनाउने कार्यमा अगाडि बढ्न अनुरोध गर्नुभयो ।

भरतपुर विकास निर्माण र अन्य गतिविधिमा देशकै अग्रणी पालिका रहदै आएकोमा अब देशकै उत्कृष्ट नगर प्रहरीको रुपमा परिचित हुन शुभकामना पनि दिनुभयो ।

यस्तै महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरको गरिमालाई थप उच्च पार्ने गरी नगर प्रहरीले कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।
उपप्रमुख अधिकारीले भरतपुरको २९ वटा वडामा महानगरको नीति नियमलाई कार्यान्वन गर्न कुनै त्रासमा नपरी काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नव नगर प्रहरीलाई निर्देशन दिनु हुँदै प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले महानगरको कार्यालयपालिका बैठकबाट भए निर्णयलाई अक्षरस कार्यान्वन गर्ने जिम्मा नगर प्रहरीको भएको उल्लेख गर्नुभयो ।

भरतपुरमा नियमविपरित भईरहेका जग्गा अतिक्रमणको कामलाई केही दिनभित्र सुरु गर्ने पनि प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिनुभयो ।

महानगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वन गर्ने गराउने, सार्वजनिक सम्पतिको सुरक्षा, संरक्षण र अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयहरुको कार्यान्वन गराउने, बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने र विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने लगायतका काम गर्ने नगर प्रहरीको जिम्मेवारी रहेको ।

प्रतिक्रिया दिनुहोस