राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको नेतृत्व आवश्यक देखियो : केपी ओली

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १४ : ५८
राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको नेतृत्व आवश्यक देखियो : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन्।

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आज पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा उनले  ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरे ।

अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन–८४’ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताए ।उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

‘देशलाई सकारात्मक दिशामा फर्काउन हामी सचेत, सङ्गठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ, राजनीति मात्र नभएर विकास निर्माण र जनजीविकाका सवालमा पनि एमालेले नेतृत्व गर्छ’, उनले भने, ‘पार्टी पङ्क्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको हो ।’