काठमाडौं । जनमत पार्टीले संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन आवश्यक रहेको भन्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७९ मा संकल्प प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था छ । नेपालको संविधानले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक एकबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबर्द्धन गरेको संकल्प प्रस्तावमा उल्लेख छ ।
वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाजको निर्माण गर्ने संकल्प संविधानले लिएको भन्दै प्रस्तावमा उल्लेख गरिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सहितको संवैधानिक उपलब्धिका लागि जनताले पटक-पटक जनआन्दोलन, सशस्त्र संघर्ष, मधेश आन्दोलन गर्नु परेको स्मरण गर्दै संकल्प प्रस्तावमार्फ जनमत पार्टीले भनेको छ, ‘यसका बाबजूद हिमाल, पहाड तथा मधेशका विभिन्न समुदायहरूमाथि पटक पटक नश्ल, रंग र वर्णको आधारमा विभेद राज्य पक्ष र शासक वर्गबाट हुँदै आएको छ ।’
नश्ल, रंग र वर्णको आधारमा उनीहरूविरुद्ध अनेकौं अपमानजनक शब्दहरू प्रयोग गरिनुका साथै दैनिक व्यवहारमादेखि लिएर राज्यका प्रक्रियाहरूमा समेत उनीहरू विभेदको शिकार हुनु परेकोले संकल्प प्रस्ताव ल्याउनु परेको बताइएको छ ।
२०७१ मंसिर १० गते काठमाडौंको सुन्धारा क्षेत्रबाट नेपाल प्रहरीले रंग र वर्णकै आधारमा छुट्याइछुट्याइ करिब ३०० मधेशीहरूलाई गिरफ्तार गरेको जनमत पार्टीको दाबी छ ।
उक्त गिरफ्तारीको विरूद्धमा हरेक वर्ष मंसिर १० गते रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भाव कायम गर्न रंगभेदविरूद्ध एकता दिवस मनाउनुपर्ने जनमत पार्टीको प्रस्ताव छ ।
‘रंगभेद गरिनुमा रंगभेद के हो के होइन, आफूले रंगभेद गरिरहेको छु भनेर आमनागरिकमा बोध नहुनु प्रमुख कारण रहेको हुनाले मंसीर १० लाई नेपाल सरकारबाट रंगभेदविरूद्ध एकता दिवस घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन र संघीय संसद्बाट सामुहिक रूपमा रंगभेद अन्त्य गर्ने राष्ट्रिय संकल्प लिनका लागि यो संकल्प प्रस्ताव पेश गरेको छु’ जनमत पार्टीका अध्यक्ष राउतले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’
जनमत पार्टीले आज धोती दिवस मनाउने