दरबारका हुक्के र चम्चेबाहेक कोही राजतन्त्रको पक्षमा छैनन् : वर्षमान पुन

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, १६ : १७
दरबारका हुक्के र चम्चेबाहेक कोही राजतन्त्रको पक्षमा छैनन् : वर्षमान पुन

ललितपुर । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा नरहेको बताएका छन् । उनले इतिहास भइसकेको वंश परम्परा आधारित राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने उल्लेख गरेका हुन् । 

निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका केही व्यक्ति र शक्तिले विगतमा पनि गणतन्त्रप्रति विमति राखेको भन्दै उनले तिनै व्यक्तिले राजतन्त्रको वकालत गरेको पुनले दाबी गरे ।

‘सानो समूहमा रहेका केही पश्चगामी र निरङ्कुशतन्त्र पक्षपातीहरूले हिजोका दिनमा पनि गणतन्त्रप्रति विमति राखेका थिए । तिनीहरू स्वाभाविक रूपले राजतन्त्रकै निरन्तरता चाहन्थे’, पार्टी सम्बद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार ललितपुरको लगनखेलमा गरेको कार्यक्रममा पुनले भने, ‘वंशाणुगत राजतन्त्रबाट लाभ प्राप्त गरेका तत्कालीन दरकारका आसेपासे, ढोके, हुक्के र तिनका चम्चेहरुले राजतन्त्र चाहिन्छ भन्नुलाई बिलकुल अस्वाभाविक मान्नुपर्दैन ।’ 

पुनले राजतन्त्रमा जनताले राज्यका लाभ नपाएको स्पष्ट रहेको भन्दै आमजनता गणतन्त्रको पक्ष र राजतन्त्रको विपक्षमा रहेको दाबी गरे । ‘सधैँ राजतन्त्रबाट लाभ लिएको वर्ग र समुदायले गणतन्त्र भत्काउन पाए फेरि गुमेको स्वर्ग फर्कन्थ्यो कि भन्ने ठान्नु अन्यथा होइन’, उनले भने, ‘त्यो वर्ग र शक्ति आज असान्दर्भिक भइसकेको छ ।’ 

गणतन्त्र, संविधान, संघीयता र धर्मनिरपेक्षताजस्ता परिवर्तनका राजनीतिक उपलब्धि बचाउनु माओवादीसहित १२ बुँदे समझदारी, ०६२–०६३ को जनआन्दोलन शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सहभागी मूलधारका राजनीतिक दलहरूको दायित्व भएको पुनले बताए । आधुनिक नेपालको राजनीति १२ बुँदे समझदारीको जगबाट अघि बढेकाले त्यस पक्षधर शक्तिहरूबिच दैनन्दिनका राजनीतिक एजेन्डामा विमति भएपनि उपलब्धि बचाउने सवालमा समानता रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस