चितवन । भरतपुर महानगरपालिका भित्र रहेका निजी संस्थाका माध्यमिक विद्यालयहरूले बिहानी कक्षा सञ्चालन गर्न नपाउने भएका छन् । महानगरभित्रका माध्यामिक तहमा पढाउने ७४ वटा संस्थागत विद्यालय छन् । ती विद्यालयहरूलाई आउँदो शैक्षिक सत्रदेखि बिहानी कक्षा सञ्चालन गर्न नपाउने गरी भरतपुर महानगरका शिक्षा समितिले निर्देशन दिएको हो ।
कात्तिक १२ गते महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले निर्णय कार्यान्वयन गर्न पत्राचार गर्दै शैक्षिक सत्र २०८१–२०८२ देखि बिहानी सत्रमा पढाउने गरी भर्ना नै नलिन निर्देशन गरेको छ ।
नगरशिक्षा समितिले भदौको ५ गते गरेको निर्णय अनुसार सबै संस्थागत विद्यालयहरूलाई पाठ्यक्रम र पाठ्यघण्टा मध्यनजर गरी आगामी शैक्षिक सत्रमा कक्षा ११ र १२ मा बिहानी कक्षा सञ्चालन नगर्न निर्देशन गरिएको भनिएको छ ।
महानगरका नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलको हस्ताक्षर रहेको निर्देशनमा अहिलेदेखि नै दिवा समूहमा अध्यापन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार पनि तयार गरिराख्न पनि भनिएको छ ।
महानगरका नगरशिक्षा अधिकारी पौडेलका अनुसार यसअघि नै पाठ्यघण्टा नपुग्ने भनी महानगरले विज्ञान विषयमा कक्षा ११ र १२ बिहानी समूहमा पढाउन रोक लगाएको छ । अहिले महानगरमा बिहानी समूहमा व्यवस्थापन र मानविकी समूहमा मात्रै कक्षा ११ र १२ को कक्षा सञ्चालन हुँदै आएको छ । महानगरले यसअघि नै सामुदायिक विद्यालयहरूलाई पनि बिहानी सत्रमा आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन नगर्न भनिसकेको छ ।
संस्थागत विद्यालय सञ्चालकहरूले भने महानगरको यस निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले बिहानी समूहमा पाठ्यघण्टा पूरा हुने गरी पढाउन रोक लगाउन नहुने पनि बताउँदै आएका छन् । यसअघि चितवनको रत्ननगर नगरपालिकाले पनि बिहानी सत्रमा माध्यामिक कक्षा सञ्चालन नगर्न संस्थागत विद्यालयहरूलाई निर्देशन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १७ कार्तिक २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका