विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनको अन्तरले हरायो

एजेन्सी

विहीबार, १६ कार्तिक २०८०, ०७ : १०
विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनको अन्तरले हरायो

एजेन्सी । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डलाई भारी अन्तरले हराउँदै दक्षिण अफ्रिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधवार राति पुणेमा सकिएको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनको भारी अन्तरले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको ३५८ रनको विशाल लक्ष्य न्युजिल्यान्डले भेट्टाउन सकेन । उ ३५.३ ओभरमा १६७ रन बनाउँदै अलआउट भयो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६० रन बनाए । 

दक्षिण अफ्रिकाका लागि केशव महाराजले सर्वाधिक ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकालाई विशाल स्कोरसम्म पुर्याउन २ खेलाडीले शतक तथा १ ले अर्धशतक प्रहार गरेका थिए । रसी भान डेर दुसेनले शतकसहित सर्वाधिक १३३ रन बनाए । यस्तै, शतक आनेका अर्का खेलाडी क्लिन्टन डी ककले ११४ रन जोडे ।

डेभिड मिलरले अर्धशतकसहित ५३ रन बनाए । न्युजिल्यान्डका लागि टिम साउथीले सर्वाधिक २ विकेट लिए ।  

जीतसँगै दक्षिण अफ्रिकाले अयोजक भारतलाई अंक तालिकामा पछि पारेको छ । समान १२ अंक भए पनि नेट रनरेटका आधारमा दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ । भारतले एक खेल कम खेलेको छ ।

हारपछि न्युजिल्यान्ड तेस्रोबाट चौथो स्थानमा झरेको छ । तेस्रोमा भने अष्ट्रेलिया छ ।समूह चरणमा रहेका १० मध्ये ४ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

प्रतिक्रिया दिनुहोस