कञ्चनपुरमा सर्वपक्षीय बैठकद्वारा सहमति : बिरोध बन्द गरौँ

शनिबार, ०९ भदौ २०७५, १८ : १३
कञ्चनपुरमा सर्वपक्षीय बैठकद्वारा सहमति : बिरोध बन्द गरौँ

भीमदत्तनगर । कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध/आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सर्वदलीय र सर्वपक्षीय छुट्टाछुट्टै बैठकले सो अपिल गरिएको हो ।

बैठकले तत्कालन विरोध बन्द गरी घटनाका विषयमा गृहमन्त्रालयको उच्चस्तरीय छानबिन टोलीलाई अनुसन्धान गर्नमा सहज वातावरण बनाइदिन हुन नागरिक समाज, व्यापारी, व्यवसायी, विभिन्न महिला तथा मानवअधिकारकर्मीलगायत सबैमा अपिल गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

सर्वपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले आन्दोलनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्तनगरपालिका–१८ का किशोर सनी खुनालाई शहीद घोषणा गर्न र मृतक खुनाका परिवारलाई उचित क्षतिपूर्ति दिन सङ्घीय, प्रदेश नं ७ र स्थानीय नगरपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले निर्मला हत्याकाण्डपछि भएका आन्दोलनका क्रममा घाइते भएकाको उपचार र शारीरिकरुपमा अशक्त भई कठिनाइ भएकाको जीविकोपार्जनका लागिसमेत सरकारसँग माग गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले आन्दोलनका क्रममा सरकारी र व्यक्तिगत सम्पत्ति तोडफोडका साथै आगजनी, क्षति र भीड नियन्त्रणका क्रममा भएको बल प्रयोग विषयमासमेत छानबिन गरी दोषीलाई कारवाहीका माग गर्न गृहमन्त्रालयलाई आग्रह गरिएको छ ।

सर्वपक्षीय बैठकमा बोल्दै उच्चस्तरीय छानबिन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले कञ्चनपुर आएपश्चात् घटनाका विषयमा जनमत बुझिसकेको बताउँदै निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाइदिन आग्रह गर्नुभयो ।

“स्थिति अब हामी सबै मिलेर सामान्यकरण गर्दै लैजानुपर्छ ।” संयोजक मैनालीले भन्नुभयो, “विगतको अनुसन्धानका कमीकमजोरी औँल्याएरसमेत अगाडि बढ्दै छौँ ।” बैठकमा बोल्ने अधिकांश वक्ता निर्मला हत्याकाण्डको अनुसन्धानमा शुरुवातदेखि नै कञ्चनपुर प्रहरीको गम्भीर लापर्बाही देखिएको भन्दै शून्यबाट पुनः अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।

अधिवक्ता एवं नागरिक समाज कञ्चनपुरका सहसंयोजक पुनमसिंह चन्दले प्रहरीले अनुसन्धान प्रक्रियामा गरेको लापर्बाहीका कारण अहिलेको अवस्था सिर्जना भएको बताउँदै निर्मला गृहकार्यका लागि गएको साथीको घरबाट अनुसंन्धान शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

“स्थानीय प्रशासनलाई आन्दोलनरत पक्षको जनभावना थाहा हुँदाहुँदै पनि अनुसन्धानमा बचाऊ गर्दै मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई नाटकीय शैलीमा सार्वजनिक गरियो,” उहाँले भन्नुभयो, “अब निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाउन सबै लागौँ ।”

नागरिक समाज कञ्चनपुरका पूर्वअध्यक्ष नरबहादुर साउँदले शुक्रबार प्रहरीबाट भएको गोली प्रहारप्रति आपत्ति जनाउँदै निर्मला काण्डमा प्रहरीबाट दमन र हत्यारा बचाउको प्रयास भएको धारणा व्यक्त गर्नुभयो ।

“हामीले स्थिति बिगँ्रदै छ, समयमै ध्यान दिउँ भनेर प्रहरी उपरीक्षक डिल्लाराज विष्टलाई पटक/पटक भन्यौँ,” साउँदले भन्नुभयो, “तर प्रहरी उपरीक्षकले हाम्रो डेलिगेशनलाई गम्भीरताका साथ कहिल्यै लिनुभएन ।” बैठकमा राजनीतिक दलहरुबाट पनि बिग्रेको भीमदत्तनगर र आसपासको वातावरण संयमित बनाउन पहल हुनुपर्नेमा जोड दिएको थियो ।

छानबिन समितिलाई तोकिएको मितिसम्म छानबिन सहजरुपमा गर्न दिन वातावरण मिलाउन पहल तीव्ररुपमा भइरहेको बताउँदै निर्मला हत्याकाण्ड दबाब सङ्घर्ष समितिका संयोजक हेलन श्रेष्ठले छानबिन समितिलाई दबाबमा नपरी अनुसन्धान गरेर दोषी पत्ता लगाउनुपर्ने धारणा राख्नुभयो ।

बम दिदी/बहिनी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले निर्मला पन्त हत्याकाण्डको अनुसन्धानका लागि भन्दै भीमदत्तनगरपालिका–१८ का रोशनी बम र बबिता बमलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

रोशनी बम बलात्कारपछि हत्या गरिएकी निर्मलाका साथी हुन् । गत साउन १० गते उनकै घरमा निर्मला स्कूलको गृहकार्य गर्न भनेर पुगेकी थिइन् । गृहकार्य गरेर घर फर्किने क्रममा निर्मलाको हत्या भएको थियो ।

साउन ११ गते बिहान निर्मलाको उखुबारीमा शव भेटिएपछि सोही बेला रोशनीको घरमै उनको हत्या भएको सर्वत्र आशङ्का गरिएको थियो । तर कञ्चनपुर प्रहरीले घटनाको केही दिनपछि बम दिदी/बहिनीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । घटनाको बमद्वयको संलग्ना नदेखिएको भन्दै प्रहरीले दुवैलाई साधारण तारेखका छाडेको थियो ।

अनुसन्धानका लागि यहाँ आएको छानबिन समिति र स्थानीय प्रशासनको नयाँ नेतृत्वलाई बमको घरबाट अनुसन्धान थाल्न व्यापक दबाब परेको छ । प्रहरी उपरीक्षक कडायतले पनि अनुसन्धानका लागि बम दिदीबहिनीलाई नियन्त्रणमा लिएर सोधपुछ शुरु भइसकेको जानकारी दिनुभयो ।

भीमदत्तनगरमा शुक्रबार राति ८ बजेदेखि लगाइएको निषेधाज्ञा भने अझै जारी छ । बजार आसपासको क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।(रासस)

यो पनि
कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

कञ्चनपुर आन्दोलन : स्थिति साम्य बनाउन सर्वदलीय छलफल

निर्मला हत्या प्रकरण : गृहमन्त्रीले भनेका दोषी दुई जना कहाँ छन् ?

निर्मला हत्या प्रकरण : थप दुई जना पक्राउ  

निर्मला हत्या प्रकरण : एसपीका छोरा र मेयरका भतिजा पनि अनुसन्धानमा तानिने

डडेल्धुरामा प्रदर्शनकारीले भने, ‘असक्षम गृहमन्त्री राजीनामा दे’

नेकपाको निर्णय : आरोपी जोकोही भएपनि कडाभन्दा कडा कारबाही

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा कर्फ्यु, काठमाडौँमा नाटक

काठमाडौँ तानिएका एसपी विष्टलाई गृह मन्त्रालयद्वारा निलम्बन

प्रतिक्रिया दिनुहोस