दाङ। फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ ।
“पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले भने, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बिउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।
कीरा लागेपछि दुई–तीनपटक औषधि छरे पनि त्यसले काम नगरेको तुलसीपुर–७ निवासी किसान धनिराम भुसालले बताए । एग्रोभेटबाट औषधि ल्याएर छर्केको उनको भनाइ छ । सो कीरालाई नियन्त्रण गर्न नसकिएमा धान उत्पादनमा गिरावट आउने उनले बताए ।
अहिले वर्षा रोकिएपछि धानमा यस्तो समस्या देखिएको उपमहानगरपालिका कृषि महाशाखाका कृषि प्राविधिक रवि न्यौपानेले बताए । “शुरुमा खासै थिएन”, उनले भने, “बीचमा वर्षात रोकिएपछि रोग देखापरेको हो ।”
धानमा पातको फेद डडुवा, फड्के कीराजस्ता समस्या देखिएको उनको भनाइ छ । किसानले पनि नियमित रेखदेख नगर्दा समस्या भएको उनले बताए ।
अहिले उक्त रोग नियन्त्रण गर्नका लागि रासायनिक विषादीको सिफारिस गरिएको र किसानले त्यहीअनुसार प्रयोग गर्ने गरेको उनको भनाइ छ । दाङका सबैजसो ठाउँमा यस्तो समस्या देखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
लमजुङमा बढ्यो धान उत्पादन
महोत्तरीमा धान उत्पादन बढ्यो
इलाममा धान उत्पादन घट्यो
बागमती प्रदेशमा धान उत्पादन घट्यो
शिवसताक्षीका ४ वटा वडा नुनिया धानको पकेट क्षेत्र घोषित