प्रहरीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, ११ : ४५
प्रहरीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रविधिको दुरूपयोग गरी हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा अनुसन्धान गर्न नयाँ नयाँ प्रविधि भित्र्याउनुको साथै प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्ने बताएका छन।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले गुनासो व्यवस्थापनको लागि क्यूआर कोडको प्रयोग सार्वजनिक गर्न सोही कार्यालयमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताए । कार्यक्रममा उनले कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धि कार्यविधि, २०८० र उक्त क्यूआर कोड सार्वजनिक
गरे ।

उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोड प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिरमर्का वा कैफियत भएमा सिधै क्यूआर कोड मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्नेछन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालनमा ल्याएको क्यूआर कोडको प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तर्गत रहेका सम्पूर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस