अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा, नाम फेर्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, १५ : ११
अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा, नाम फेर्ने तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को केन्द्रीय समिति बैठकले २३ औं राष्ट्रिय सम्मेलन आगामी माघमा गर्ने निर्णय गरेको छ । 

अखिल (क्रान्तिकारी) ले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर केन्द्रीय समितिको सातौं पूर्णबैठकको निर्णय सार्वजनिक गरेको हो । राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने बताइएको छ ।  

राष्ट्रिय सम्मेलन विशेष उपसमितिहरु गठन गर्दै अखिल (क्रान्तिकारीले वर्तमान केन्द्रीय समितिलाई २३औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा परिणत गरेको छ ।  राष्ट्रिय सम्मेलन विशेष उपसमितिहरुमा विधान तथा प्रतिवेदन लेखन, आर्थिक, व्यवस्थापन, संस्कृति तथा कला, अतिथि व्यवस्थापन, प्रचारप्रचार, विद्यार्थी परिचालन तथा संयमसेवक, स्वास्थ्य तथा आपतकालीन उद्धार रहेका छन् । ती उपसमितिका प्रमुख र सदस्यहरुसमेत टुंगो लागिसकेको छ । 

केन्द्रीय समितिको सातौं पूर्ण बैठकले २३ औं राष्ट्रिय सम्मेलनवाट संगठनको नाम परिवर्तन गर्ने र यसबारे सुझाव संकलन गर्ने निर्णय पनि गरेको छ । माओवादीको विद्यार्थी संगठनसँग नाम जुद्दा नराम्रो कामको अपजस लिनुपरेको र आफूहरुले गरेको राम्रो कामको जस माओवादीको संगठनले लिएकाले नाम फेर्न लागिएको उपाध्यक्ष नरेन्द्र सीले बताए । 

२३औं राष्ट्रिय सम्मेलन केन्द्रित संगठन निर्माणका लागि सदस्यता वितरण, त्रिविका आंगिक र अन्य विश्वविद्यालयहरुका केन्द्रीय र महत्वपूर्ण क्याम्पसको इकाई सम्मेलन, विश्वविद्यालयका सम्मेलन र भौगोलिक जिल्लाका भेला सम्मेलनहरू तीब्र गतिमा सम्पन्न गर्ने निर्णयसमेत भएको छ । 

साथै, बैठकले हालै संसद्मा दर्ता भएको शिक्षा विधेयक २०८० ले शिक्षामा नवउद्धारवादी नीतिको पक्षपोषण गरेका अखिल (क्रान्तिकारी) ले निष्कर्ष निकालेको छ । उक्त विधेयकले शिक्षामा निजीकरण र व्यपारीकरणलाई वैधता दिएको अखिल (क्रान्तिकारी) को बुझाइ छ । 

शिक्षा विधेयक संविधानले कल्पना गरेको समाजवाद उन्मुख देश र अनिवार्य तथा निः शुल्क शिक्षाको हकका विरुद्धमा रहेको भन्दै अखिल (क्रान्तिकारी) ले देशव्यापी संघर्ष गर्ने निर्णय गरेको छ । शिक्षा विधेयकबारे अखिल (क्रान्तिकारी) ले आगामी असोज ७ गते काठमाडौंमा वृहत अन्तरक्रिया गर्ने बताइएको छ । उपाध्यक्ष नरेन्द्र सीले केन्द्रीय समिति बैठकमा नेपालको वर्तमान राजनीतिक प्रणाली र विद्यार्थी आन्दोलनका बारेमा महत्वपूर्ण निर्णयहरु गरिएको बताए । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले २३औं राष्ट्रिय सम्मेलनमा संगठनको नाम परिवर्तन हुनसक्ने बताए । ‘संगठनको नामका विषयमा पनि यो सम्मेलनमा छलफल गर्ने छौं । पछिल्लो समय माओवादी आन्दोलनमा देखिएको समस्या र पार्टीहरुको भातृ संगठनको नाम एउटै हुँदैगर्दा कतिपय हाम्रा संगठनले गरेको राम्रा कामहरु पनि सोलोडोलोमा हाल्ने र त्यसको गलत मूल्याङकन गर्ने परम्परा देखिएको छ,’ उनले भने, ‘हाम्रो आफ्नै पहिचान स्थापित गर्ने कार्यभार हाम्रो समक्ष छ । त्यसैले २३औं राष्ट्रिय सम्मेलनबाट संगठनको नयाँ नाम राख्ने सोचिरहेका छौं ।’ 

संगठनको नामको सन्दर्भमा देशभर अध्ययनरत विद्यार्थीहरुले सल्लाह दिन सक्ने उनले बताए । उनले नेपालको पछिल्लो विद्यार्थी आन्दोलन सत्ता पक्षीयजस्तो देखिएको बताए । अहिले संसद्मा दर्ता भएको शिक्षा विधेयक लहैलहैमा आएको उनको भनाइ छ । यो विधेयक पास गरेर बेलगाम शिक्षामा व्यापार हुने, धार्मिक व्यापार फस्टाउने उनले बताए । शिक्षालाई प्रविधि मैत्री र प्राविधिक बनाउन पर्नेमा यो विधेयक कर्मकाण्डी भएको उनको टिप्पणी छ । 

अर्का वक्ता ललित सीले अहिलेको शिक्षा विधेयकले निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरेको बताए । अहिले शिक्षा क्षेत्र कहिले पनि घाटा नहुने व्यापार बनिरहेको अवस्थामा यसलाई विधेयकले थप प्रोत्साहन दिएको उनको भनाइ छ ।