ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँ भन्दा बढी भेटी सङ्कलन भएको छ।
आर्थिक वर्ष २०७९/८० मा तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो। नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८ रुपैयाँ, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा पाथिभरामा दुई करोड १४ लाख भेटी सङ्कलन भएको थियो। समितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा सङ्कलन भएको छ।
समितिको कोषमा सात करोड ८८ लाख १० हजार दुई सय पाँच जम्मा रहेको काफ्लेले जानकारी दिए। पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ। यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए।
भेटीबाट सङ्कलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन , फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको विकास समितिले जनाएको छ।
समितिले सङ्कलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ।
तीर्थयात्रीको सहजताका लागि पाथीभरा मन्दिरको पूजा धामबाट माथिल्लो फेदीसम्म फाइवरको ट्रस लगाउन थालिएको हो।
हिमपातको समयमा हिउँले बाटो पूरै पुरेपछि यात्रुले कठिन यात्रा गर्नुपर्ने बाध्यता खेप्दै आएकाले पदमार्गमा ट्रस लगाउन लागिएको समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप
पाथीभरामा एक महिनामा २० लाख बढी भेटी सङ्कलन
एक महिनामै पाथीभरामा ६९ लाख ३२ हजार भेटी संकलन
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग