प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलिय बैठक बस्दै

शुक्रबार, ०७ पुस २०७४, १० : २६
प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलिय बैठक  बस्दै

चितवन । राष्ट्रिय सभा र सरकार गठनका विषयमा राजनीतिक गतिरोध बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । सत्तारुढ दल नेपाली काङ्ग्रेसले निर्वाचन परिणाम सार्वजनिक गर्न अघि राष्ट्रपछि कार्यालयमा अड्किएर रहेको राष्ट्रिय सभा गठनबारे अध्याधेश जारी गर्न पर्ने अडान राखेको छ ।

यता, नेकपा एमालेले भने उक्त अध्याधेस असंवैधानिक भएको भन्दै राष्ट्रपतिले उक्त अध्याधेश जारी गर्न नहुने र निर्वाचन आयोगले तत्काल निर्वाचन परिणाम सार्वजनिक गरेर सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
राष्ट्रिय सभा र सरकार गठन फरक प्रक्रिया भएको भन्दै एमालेले जनमतको कदर गर्दै नयाँ सरकार गठनको प्रक्रिया तुरुन्त शुरु गर्नुपर्ने बताउँदै आएको छ ।

तर, सरकारले भने राष्ट्रिय सभाको निर्वाचनपछि मात्र निर्वाचनको चक्र पूरा हुने र त्यसपछि मात्र सरकार गठनको प्रक्रिया अघि बढ्ने भन्दै अध्याधेश जारी गर्नुपर्नेमा जोड दिइरहेको छ ।

राष्ट्रिय सभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणाली वा बहुमतीय निर्वाचन प्रणालीमा जाने भन्ने विषयमा दलहरुबीच मतभिन्नता देखिएको छ ।
दुवै पक्षले आ–आफ्ना तर्क प्रस्तुत गरिरहेका छन् । जसले गर्दा नेपाली राजनीति अनिर्णयको बन्दी बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस