खानी खोजतलास गर्न ४३२ कम्पनीले पाए अनुमति

सफल खबर संवाददाता

विहीबार, ३२ साउन २०८०, ०८ : ५२
खानी खोजतलास गर्न ४३२ कम्पनीले पाए अनुमति

खानी तथा भूगर्भ विभाग (लैनचौर) ले मुलुकभित्र रहेका खानी खोजतलास गर्न ४ सय ३२ कम्पनीलाई अनुमतिपत्र दिएको छ। विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गरिरहेको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो। 

विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानी खोजतलासका लागि विभागबाट अनुमतिपत्र दिइएको हो। गत वर्षसम्म ३ सय ७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरिएको थियो। विभागले आर्थिक वर्ष २०७९/८० मा थप ५८ कम्पनीलाई खानी खोजतलास गर्न अनुमति दिएको उनले बताए। ‘अनुमति दिएकामा सबैभन्दा धेरै चुनढुङ्गा र तामा छन्’, सूचना अधिकारी बाँस्कोटा भन्छन्। 

यस्तै, विभागले हालसम्म एक सय ५८ कम्पनीलाई खानी उत्खननका लागि अनुमतिपत्र प्रदान गरेको छ। गत वर्षसम्म १ सय ४७ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको विभागले आव २०७९/८० मा थप ११ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको हो।

खानी खोजतलास तथा उत्खननका लागि आउनेमध्ये सबैभन्दा धेरै कम्पनी चिनियाँ रहेको सूचना अधिकारी बाँस्कोटाको भनाइ छ। अनुमतिपत्र प्राप्त गरेका कम्पनीमध्ये ५० प्रतिशतले मात्र उत्खननको काम सुरु गरेको र बाँकी कम्पनी उत्खननका लागि आवश्यक प्रक्रियामै  छन्। 

विभागले आव २०७९/८० मा समयमा खानी खोजतलास तथा उत्खननको क्षेत्रमा काम नगर्ने एक सय २१ कम्पनीको अनुमतिपत्र रद्द गरेको छ। ‘समयमा नवीकरण गर्न नआउने, म्याद सकिने र खोजेको कुरा नपाएपछि काम गर्न छाड्ने कम्पनीको अनुमतिपत्र रद्द गरेका हौँ’, बाँस्कोटाले भने। धौवादी फलाम उत्खननका लागि विभागले नवलपरासीमा अनुमति प्रदान गरेको छ। 

यसअघि उदयपुर सिमेन्ट कारखाना, हेटौँडा सिमेन्ट उद्योगलाई चाहिने चुनढुङ्गा खानी तथा भूगर्भ विभागले अध्ययन गरेर प्रदान गरेको चुनढुङ्गा हो। यसबाहेक अन्य सिमेन्ट उद्योगलाई आवश्यक पर्ने चुनढुङ्गासमेत विभागले उत्खनन गरेर प्रदान गरिरहेको छ। 

विभागका महानिर्देशक रामप्रसाद घिमिरे विभागले खानी खोजतलास तथा उत्खननको कामलाई तीव्रता दिएको बताउँछन्। विभागले हाल सङ्खुवासभाको लुहाकोटमा फलाम, भोजपुरको दिङ्लामा तामा, सिन्धुलीको खनियाखर्कमा ग्रेनाइट, धादिङको सुनौलाबजारमा डोलोमाइट, धादिङको गणेश हिमालमा रुवी, रुकुममा तामा, उदयपुरको रतुवामाइमा फलाम, मधेस प्रदेशमा सेरामिक्स र धादिङको बेनीघाटमा चुनढुङ्गाको अध्ययन गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस