कास्की । गण्डकी प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको बैठकले विभिन्न निर्णय गरेको छ । गएरातिको बाढीले मुस्ताङको कागबेनी क्षेत्रका घरहरु बगाउँदा सर्वसाधारण बिस्थापित भएसँगै सोमवार बिहान बसेको प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठकले आवश्यक निर्णय गरेको हो । बैठकपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय भएको बताए ।
उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै उनले सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरे । बैठकले राहत ब्यवस्थापन र बाढीबाट भत्किएको संरचना ब्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनकालागि मुस्ताङमा इन्धन अभाव भएपछि ३ हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ ।
जिल्ला विपद् ब्यवस्थापन समिति मुस्ताङबाट माग भई आए अनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङकेट पठाउने, बाढी पहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात ब्यवस्थापन, कृषि र पशुजन्य क्षति ब्यवस्थापन, भूसंरक्षण लगायतका कार्यहरुमा गण्डकी प्रदेश सरकारका संम्बन्धित मन्त्रालयहरुबाट आवश्यक समन्वय, श्रोत साधनको परिचालन र सहजीकरण गर्न बैठकले निर्देशन गरेको छ । मौसम प्रतिकुल भएकाले हेलिकप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालका लागि ट्याक्टरबाट इन्धन, कम्बल, टेन्ट लगायतका सामग्री पठाउने निर्णय बैठकले गरेको हो । लगातार वर्षात हुँदा बाढी, पहिरोबाट पुगेको क्षतीका बारेमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग मुख्यमन्त्री पाण्डेले जानकारी लिएका थिए ।
सोही क्रममा उनले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको बिपद् ब्यवस्थापन कोषको रकम खर्च गरेर बिपद्का विषयमा सर्वसाधारण नागरिकलाई परेको समस्या छिटो समाधान गर्ने गरि अघि बढ्न निर्देशन दिए । थप सहयोग आवस्यक परेमा प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले सुरक्षा निकाय सहित जिल्ला स्थित प्रदेश मातहतका कार्यालयलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिए । बैठकमा प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, १३ : ५२
लेखकबाट थप