काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुने बताएका छन् । अवैतनिक वाणिज्य दूतहरूको सङ्गठन अनररी कन्सुलर कप्र्स नेपालको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन सङ्घका पदाधिकारीहरूलाई आह्वान गरे ।
मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो । चार्टर डे २०२३ को समेत उद्घाटन गर्दै उपराष्ट्रपति यादवले कन्सुलरले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपालबीच आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।
कन्सुलर १७औँ वर्षमा प्रवेश गरेको सुखद् उपललक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संस्थाले नेपालमा लगानी व्यापार र पर्यटन प्रवर््द्धनमा सकारात्मक भूमिका खेल्दै आएकोमा खुसी व्यक्त गरे । उनले संस्थाले नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा मित्र राष्ट्रका आमजनताबीचको सामिप्यता अभिवृद्धि गर्दै दौत्य सम्बन्धलाई थप मजबुद बनाउने कार्यमा अझै सबल रहने विश्वास व्यक्त गरे ।
नेपालमा लगानीका सम्भाव्यहरू जलविद्युत्, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि संस्थाले थप योगदान दिन सक्ने उनले विश्वास व्यक्त गरे । कन्सुलरले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्न सम्बन्धित राष्ट्रहरूसँग पहल गर्नमा पनि केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले विकासमा दुई पक्षीय सम्बन्ध भएका देशहरूबाट नेपाललाई आर्थिक विकासमा सक्रिय हुन आह्वान गरे । नेपालको पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा सहयोग जुटाउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूतहरू, विभिन्न देशका महावाणिज्य दूत तथा वाणिज्य दूतहरू र परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
उपराष्ट्रपति यादव अस्पताल भर्ना
मलावीका उपराष्ट्रपति चढेको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको जिम्मेवारी