भरतपुर क्षेत्रमा दिउँसै चोरी गर्ने एक महिला प्रहरीको फन्दामा

बुधबार, २३ साउन २०७५, १६ : ०८
भरतपुर क्षेत्रमा दिउँसै चोरी गर्ने एक महिला प्रहरीको फन्दामा

तस्विर सुरेन कुँवर

चितवन । भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्रमा गरगहना र धनमाल चोरी कार्यमा सक्रिय महिला पक्राउ परेकी छिन् । मकवानपुर घर भई नवलपुरको गैँडाकोटमा व्यवसाय गर्दै आएकी ३२ वर्षिया शोभा विकलाई प्रहरीले पक्राउ गरेको हो । उनी सहित चोरी समान खरिद गर्ने दुई व्यपारी पनि पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन मार्फत घटनाको बारेमा जानकारी दिएको छ । 
 जिल्ला प्रहरी कर्यालय चितवनका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले विकसँग सुन खरिद गर्ने काठमाडौँ ओमबहालका सानुरत्न शाक्य र रश्मी ज्वेलर्स संगमचोक नारायणगढका लेखबहादुर विकलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक राठौरका अनुसार ती महिलाले वैशाख १२ गतेदेखि हालसम्म छ घरबाट नगद र गरगहना गरी रु २५ लाख छ हजार बराबरको सुन र नगद चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । गत आर्थिक वर्षमा प्रहरीमा रु ३५ लाख एक हजार नगद, ४९ तोला सुन र १७ तोला चाँदी चोरी भएको भन्दै उजुरी परेको छ ।

राठौरका अनुसार दिनको समयमा ती महिलाले चोरी गर्ने गरेको खुलेको छ । त्यस्तै उनले भिआईपी एरिया पहिचान गरि चोरी गर्ने गरेको बताएकी छिन् । प्रहरीले उनको साथबाट चोरी गर्दा प्रयोग गर्ने घन ,पेचकस ,पिलास बरामद गरेको छ । सकेसम्म घरभित्रनै पुग्ने र त्यहाँ प्रयोग भएका तालाको अवस्था बुझेर त्यहि अनुसारका फोर्ने औजार प्रयोग गर्ने गरेको पाइ्एको छ ।
 
शरीरलाई घुम्टोले ढाकेर ढोका र दराजहरूमा सामान्य क्षति गरी सुन र नगद मात्र चोर्ने गरेको भेटिएको छ । प्रहरीका अनुसार एक घरको सीसी क्यामेरा कैद भएको दृश्यमा देखिएको कृयाकलापकबाट उनले नै चोरी गर्ने पहिचान गरेको छ । ती महिलाले छाता ओडेर अनुहार नदेख्ने गरी चोरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
 
विकले गैँडाकोट नगरपालिका वडा नम्बर २ मा घर किनेर थकाली भान्छा घर सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । महिलाले आफूसँगै अर्को एक महिला रहेको भए पनि हाल सम्पर्कविहीन भएको जनाएको प्रहरीको भनाइ छ ।
पछिल्लो पटक साउन ८ गते ती महिलाले भरतपुर महानगरपालिका वडा नम्बर १० लाहुरे चोकमा चोरी गरेपछि प्रहरीले नजिकैको रिजालचोकबाट उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस