अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड भोलि नेपाल आउँदै

सफल खबर संवाददाता

विहीबार, २८ असार २०८०, १६ : ०५
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड भोलि नेपाल आउँदै

काठमाडौँ। दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालको एक दिवसीय भ्रमणमा आउने भएका छन् ।नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्ड शुक्रबार (जुलाई १४) नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ ।

डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका छन् । सोही क्रममा उनी नेपाल आउन लागेको बताइएको छ । नेपालका लागि उनको यो तेस्रो भ्रमण हो । यसअघि उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।

संसदमा एमसीसीको विवाद चलिरहेको बेला उनले नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री नारायण खड्कालगायतका अधिकारीलाई भेटेका थिए । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए । नेपालमा एमसीसी विवाद अझै समाधान भएको छैन ।

प्रतिक्रिया दिनुहोस