छ महिनाभित्र भरतपुर महानगरको सिटी प्लान तयार : सुवेदी

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०७५, १८ : ३१
छ महिनाभित्र भरतपुर महानगरको सिटी प्लान तयार : सुवेदी

चितवन । प्रदेश नम्बर तीनका प्रदेश सभा सदस्य विजय सुवेदीले विकासका लागि योजना आवश्यक हुने भन्दै भरतपुर महानगरपालिकाको सिटी प्लान छ महिनाभित्र तयार हुने बताउनु भएको छ । संयुक्त जेसीज सप्ताह अन्तर्गत बिहीबार नारायणगढमा आयोजित एक कार्यक्रममा बोल्दै सुवेदीले यस्तो जानकारी दिनु भएको हो ।
नारायणगढ जेसीज र नारायणगढ लेडिज जेसीजले संयुक्तरुपमा आयोजना गरेको चितवनमा पर्यटनको सम्भावना र युवा सहभागिता विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद सुवेदीले योजना बनाउँदा नै ज्ञान, बुद्धि र विवेक प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले समग्र चितवनमा पर्यटनको विकास कसरी गर्ने ? सम्भावना के छ ? भन्ने विषयमा योजना बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो । पर्यटन विकासका लागि विभिन्न परियोजना बनाएर युवा सहभागिता वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।
उपप्राध्यापक विश्वराज सुवेदीले कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनाली, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे, पर्यटन पत्रकार मञ्चका अध्यक्ष सूर्यप्रकाश कँडेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नारायणगढ जेसीजका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तालिम आयुक्त वासुदेव दवाडीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कानुनी सल्लाहकार अनोज जोशीले कार्यक्रम सञ्चालन र निर्देशक एवं कार्यक्रम संयोजक कपिल श्रेष्ठले जेसीजको आस्थापाठ गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस