काठमाडौं । केही दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी काम अस्थायी रूपमा पुनः सुरु भएको छ । देशभरि नै बिहीबारदेखि अवरोध रहेको राष्ट्रिय परिचयपत्रसम्बन्धी काम आइतबारदेखि पुनः सुरु भएको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी ‘अपरेसन’ गरिरहेको फ्रान्सेली कम्पनी आइडेमियासँगको सम्झौता अवधि समाप्त भई सो कम्पनीले सर्भर नै बन्द गरिदिँदा देशभरि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी काम ठप्प भएको थियो । उहाँका अनुसार सम्झौताको अवधि आठ महिनाअघि नै समाप्त भइसकेको हो ।
राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी कार्य सञ्चालन गरिरहेको फ्रान्सेली कम्पनीसँग भएको संवाद र ‘कोर्डिनेसन’सँगै परिचयपत्र निर्माणसम्बन्धी काम पुनः सुरु भएको जानकारी दिए । छिट्टै नवीकरण गर्ने प्रतिबद्धतासँगै सो कम्पनीले सर्भर खोलिदिएपछि परिचयपत्रको काम सुरु भएको उनको भनाइ छ ।
उनले भने, ‘फ्रान्सेली कम्पनीसँग नवीकरणको प्रकृया सुरु भइसकेको छ । नवीकरणबापत लाग्ने खर्चबारे अहिले हिसाबकिताब भइरहेको छ । दुई चार दिनमा टुङ्गिन्छ । नवीकरण नगरेबापतको कुनै पनि जरिवाना नलाग्ने सो कम्पनीले जनाएको छ ।’
परिचयपत्र निर्माणका लागि फ्रान्सेली कम्पनी आइडेमियासँग तीन वर्षका लागि २०७६ असारमा सम्झौता भएको थियो । सोसम्बन्धी सफ्टवेयरका लागि करिब ८३ करोड रुपियाँमा र नेपालमा बनाइने पूर्वाधारका लागि १३ करोड ६१ लाख रुपियाँ लागतमा सो कम्पनीसँग सम्झौता भएको थियो ।
मुलुकको सुरक्षा व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०६६/६७ मा सरकारको वार्षिक नीति तथा कार्यव्रmममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो ।
त्यसपछि मन्त्रीपरिषद्को २०६७ असार १६ गतेको निर्णय अनुसार छुट्टै निकायका रूपमा राष्ट्रिय राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको थियो र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना गरी यससम्बन्धी कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने तयारी
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, तीन चरणमा लागू हुने गरी निर्णय
राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि विशेष शिविर सञ्चालन
चितवनमा बिहानैदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन
यस वर्ष १ लाख ७३ हजारले लिए राष्ट्रिय परिचयपत्र