विकासको गतिमा छ महानगर : मेयर दाहाल

शनिबार, १२ साउन २०७५, १३ : ०८
विकासको गतिमा छ महानगर : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार गौरीगञ्जमा वडा नम्बर आठको कार्यालय भवन उद्घाटन गर्दै महानगरलाई विकासको गतिमा अगाडि बढिरहेको बताउनु भएको छ । उहाँले नवनिर्मित भवनमा वडा कार्यालय संचालनपछि यस वडाले प्रबाह गर्ने सेवा र सुविधामा प्रभावकारिता आउने विश्वास ब्यक्त गर्नुभयो ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई योजनावद्ध दिगो र आत्मनिर्भर बिकासको गतिमा अगाडि बढाउन लागिपरेको बताउँदै यसका लागि सम्पुर्ण नगरवासीको रचनात्मक सहयोग र खबरदारी आवश्यक रहेको बताउनु भयो । प्रमुख दाहालले महानगरले ठूला पूर्वाधार विकास, रणनैतिक महत्वका आयोजना, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखी अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाले महत्वकासाथ महानगरीय रिंगरोड र लिंकरोडको काम सुरू गरिसकेको बताउँदै यसलाई आफ्नो पाँचवर्षे कार्यकालभित्रै सम्पन्न गर्ने लक्षकासाथ कामलाई अगाडि बढाइएको बताउनु भयो । महानगरले सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सिटी हल र निजी क्षेत्रसंगको  सहकार्यमा अन्तर्राष्ट्रिय स्तरकै क्रिकेट रंगशाला निर्माणको काम पनि अगाडि बढाउने बताउनु भयो ।

महानगर प्रमुख दाहालले सडक निर्माण कार्यमा वडा नम्बर आठले उत्कृष्ट कार्य गरेको भन्दै वडावासीहरूलाई समयमै गुणस्तरीय काम गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । वडा कार्यालयलाई वडाबाट प्रवाह हुने सेवासुबिधा छिटोछरितो र पारदर्शी बनाउन निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘सेवाग्राहीले सेवा प्रवाहमा गुनासो गरेको सुनेमा मलाई सैह्य हुने छैन ।’
भरतपुर महानगरपालिकाले पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाहगृह निर्माण प्रकृयाको सुरूवात गरिसकेको मेयर दाहालले बताउनु भयो । भरतपुर महानगरपालिका महानगरवासीको इच्छा र चाहना बमोजिम नै अगाडि बढ्ने बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक विकासलाई समानान्तर ढंगले अगाडि बढाउने बताउनु भयो ।

महानगरपालिकाले विकल्पसहित बजारको पार्किङलाई ब्यवस्थित गर्ने, फुटपाथमा ब्यावसाय गर्ने परिपाटीको अन्त्य गर्ने र राजमार्गमा सवारी दुर्घटनाको कारणको रूपमा रहेको तीनपांग्रे सवार्साधनको ब्यवस्थापन गरेको बताउँदै उहाँले अब म्याजिक भ्यान र अन्य सार्बजनिक सवारी साधनहरूको पनि ब्यावस्थापनको काम तत्काल थालिने बताउनु भयो ।


भरतपुर महानगरपालिका प्रशासन प्रमुख कुलबहादुर जिसीले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी ढंगले अगाडि बढाइने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा प्रतिनिधी विष्णु बास्तोला र नवराज खनाल, नेपाली कांग्रेसका प्रतिनिधी जगन्नाथ कँडेल लगायतले आआफ्ना धारणा ब्यक्त गर्नुभएको थियो ।

७१ लाख रूपयाँको लागतमा निर्माण सम्पन्न भएको छकोठे वडा कार्यालय आइतबारदेखि सञ्चालनमा आउने छ । नवनिर्मित वडा कार्यालय उद्घाटनको अवसरमा वडा कार्यालयले गत आर्थिक वर्षमा सम्पन्न गरेको सीप बिकास तथा आयआर्जन अन्तर्गत तालिम लिएकाहरूलाई प्रमाणपत्र र सिलाई मेसिन वितरण गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष दामोदर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गत आर्थिक बर्षमा वडा नम्बर आठमा १३ वटा गरी करिब १२ किलोमिटर बाटो भरतपुर महानगरपालिका अन्य सरकारी निकाय र उपभोक्ता समितिको पुरै लगानीमा कालोपत्रेसहित निर्माण सम्पन्न भएको वडा अध्यक्ष न्यौपानेले जानकारी गराउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस