चितवनमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने तीन जना पक्राउ

विहीबार, १० साउन २०७५, १९ : ४१
चितवनमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने तीन जना पक्राउ

चितवन । चितवनमा प्रहरीले अन्तर्राष्ट्रिय कल वाइपास गर्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका ११ का ३१ वर्षका विजय गुरूङ, ३२ बर्षका मिनप्रसाद रिजाल र चितवन भरतपुर २२ का २२ बर्षका सुनील अधिकारी छन् ।
उनीहरुबाट कल वाइपास गराउन प्रयोग गरिने विभिन्न उपकरण र सामग्री बरामद गरिएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।

चितवनमा बसेर गैरकानुनी ढंगले अन्तर्राष्ट्रिय आगमन कल वाइपास गरिरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले विजय गुरूङ र सुनील अधिकारीलाई भरतपुर १० रिजालचोकबाट पक्राउ गरेको थियो भने, मिनप्रसाद रिजाललाई बुटवलबाट पक्राउ गरि चितवन ल्याइएको हो ।

उनीहरुको साथबाट १२८ र ६४ पोर्टका भिओआइपी गेटवे, विभिन्न राउटर लगायतका सामाग्री वरामद गरिएको छ । उनीहरुलाई दूर सञ्चार ऐन २०५३ अन्तर्गत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै, चितवन प्रहरीले आज विहान भरतपुर १० विक्रम मार्गबाट प्रतिवन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ११ बस्ने बर्ष २० का सुवास राई रहेका छन् ।

राति राईलाई देखेपछि प्रहरीले शंका लागि खोजतलास गर्दा उनको झोलाबाट लागु पदार्थ डाइजेपाम, बु्रफिनलगायतका लागुऔषध भेटिएको थियो । उनलाई लागुऔषध (नियन्त्रण) ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस