कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतीय सेना तुरुन्त फिर्ता जानुपर्छ : वामदेव गौतम

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १६ : १२
कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतीय सेना तुरुन्त फिर्ता जानुपर्छ : वामदेव गौतम

काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कालापानी, लिपुलेक र  लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा लिखित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपाली भू-भाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनुपर्ने बताएका हुन् । नेपालको सिंगो संसद्‍मा सबै राजनीतिक दलको सर्वसम्मतिले पारित गरेर नक्सामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको बताउँदै त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने बताए । 

भारतले मिचेको भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनहरूले पनि सहयोग गर्ने उनको विश्वास छ । 'कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग नेपालको हो । नेपालको संसद्‍बाट सर्वसम्मतिले पारित गरेर नक्सा जारी गरियो,' उनले भने, 'त्यो नेपालको भूभाग हो भन्ने कुरामा नेपाली जनतामा कुनै दुविधा छैन । अतिक्रमित भूभागबाट भारतीय सेना, भारतीय कर्मचारीहरू तुरुन्त फिर्ता जानुपर्छ । हाम्रो भूमिमा बस्न पाइन्न।’गौतमले नेपाल कहिल्यै कसैको अधीनमा नरहेको चर्चा गर्दै मिचिएका भूभागहरू फिर्ता लिएरै छोड्ने बताए । 

प्रतिक्रिया दिनुहोस