काठमाडौँ । सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि अझै आशा गरिएअनुसार प्रगति हुनसकेको छैन । सो आयोजनाको प्रगति गत महिनासम्म दुईदेखि तीन प्रतिशत रहेको थियो । वर्षात्का बोला ज्यादै कम काम भए पनि अहिले कामको गति केही बढेको हो । ठेक्का थपिएको अवधि साउनसम्ममा सकिनुपर्नेमा अहिलेसम्मको दुवै ठेक्कामा गरी प्रगति झन्डै ३१ प्रतिशत रहेको छ ।
अहिलेसम्म पश्चिम खण्डमा भौतिक प्रगति २९ दशममलव ०९ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । झन्डै साढे पाँच किमी सडकमा एक तहको कालोपत्र सकिएको नारायणगढ–बुटवल सडक पश्चिमखण्ड आयोजनाका इञ्जीनियर शिवु खत्रीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म जम्मा दुई सय मिटर बाटोमा मात्रै दुई तहको कालोपत्र भएको छ । एक तहमा पहिले छ सेन्टिमिटरको कालोपत्र गरेपछि दोहोर्याएर चार सेन्टिमिटर गरेपछि कालोपत्र पूरा हुन्छ । उनले भने, “अहिले चार लेनमध्ये दुई लेनमा मात्रै काम भइरहेको छ ।”
केही महिनायता निर्माणको प्रगति बढेको र पछिल्लो महिनामा पश्चिम खण्डको प्रगति एक दशमलव ९६ प्रतिशत रहेको इञ्जीनियर खत्रीले बताए । अहिले पनि लक्ष्यभन्दा ६०–७० प्रतिशतमात्रै काम भइरहेको छ । उनले भने, “अझै पनि कामको गति बढाउनुपर्ने भएकाले आयोजनाले चिठीमार्फत गति बढाउन भनिराखिएको छ ।”
विगत वर्षहरूमा निर्माणस्थल खाली गराउन धेरै बाधा रहेकामा अहिले त्यो हट्दै गइरहेको आयोजनाले जनाएको छ । बाँधका लागि ठूलो परिमाणमा माटो चाहिने हुँदा वन मन्त्रालय र भौतिक मन्त्रालयसँग सम्झौता भएको उनले बताए ।
बुटवाल–नारायणगढ सडक पूर्वी खण्डमा अहिलेसम्म वित्तीय प्रगति २० प्रतिशत पुगेको छ । सो खण्डमा भौतिक प्रगति ३२ प्रतिशत रहेको छ । निर्माण कम्पनीले अहिले विभिन्न काम एकसाथ अघि बढाइरहेको आयोजनाका प्रवक्ता (इञ्जीनियर) धिरज ढकालले बताए । उनले भने, “कतै नाली, कतै कल्भर्ट, कतै कालोपत्र, साना पुल निर्माण र ठूला पुलको जगको काम भइरहेको छ ।”
तीन महिनायता निर्माणको गति बढेको र कालोपत्र भएपछि प्रगति अझै बढ्ने आयोजनाले जनाएको छ । काम गरिरहेको भए पनि अझै पनि पर्याप्त देखिँदैन । निर्माण कम्पनी आफैँले लिएको लक्ष्यअनुसार पनि काम नभएकाले निर्माणको गति अझै बढाउनुपर्ने देखिएको उनले बताए ।
पछिल्लोपटक थपिएको अवधि आगामी साउनमा सकिँदैछ र सो अवधिसम्म निर्माण सक्न कठिन हुने देखिएको आयोजनाले जनाएको छ । अझै पनि महिनामा चार–पाँच प्रतिशत प्रगति निकाल्दै जाँदा समयमै नसकिए पनि केही समय थप्दा सकिने इञ्जीनियर ढकालको भनाइ थियो । वर्षासम्म काम ज्यादै कम भएकामा अहिले बढेर मासिक तीन प्रतिशत हाराहारीमा प्रगति भइरहेको छ ।
निर्माण कम्पनीसँग अहिले दुई सयभन्दा बढी उपकरण छन् भने पाँच–सातसम्म कामदार कार्यरत छन् । त्यति हुँदाहुँदै अझै आशा गरिएअनुसार निर्माण अघि बढ्न नसकेको उनले बताए । निर्माणस्थलमा अझै विद्युत्को पोल सार्न बाँकी छ । निर्माणस्थल खाली गराउन गर्नुपर्ने प्रक्रियागत काम सकिएर निर्माण कम्पनीले सार्ने काम गरिरहेको छ । आयोजनाले समन्वय गरेर गर्नुपर्ने कामभन्दा अब निर्माण कम्पनी आफैँले गर्नुपर्ने काम बढी बाँकी रहेको छ । इञ्जीनियर ढकालले भने, “सामान्य कामको सिलसिलामा आएको समस्या समन्वय भइरहेको हुन्छ । आयोजनाले निर्णय नै गर्नुपर्ने चाहिँ भएको छैन ।”
दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या थियो । गत वर्ष पनि एक–दुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भएपनि आगामी वर्षाका बेलामा त्यो नदोहोरिने आयोजनाको ठम्याइ थियो ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सो सडक विस्तार भइरहेको छ । सरकारले पूर्व–पश्चिम राजमार्ग एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ । विभिन्न खण्डमा कतै विस्तार अघि बढिसकेको छ भने कतै विस्तारका लागि तयारी भइरहेको छ । विसं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो । एक सय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई आयोजनामार्फत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पोरेशनलाई दिइएको थियो । गत वर्ष अवधि सकिएपछि एक वर्षका लागि थपिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २२ बैशाख २०८०, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ-बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
नारायणगढ–बुटवल सडक : ठूला पुलमा ‘गर्डर लन्चिङ’ को काम सुरु
नारायणगढ–बुटवल सडकखण्ड विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति
नारायणगढ-बुटवल सडकखण्ड : म्याद सकिन ६ महिना बाँकी रहँदा आधामात्रै काम