प्रधानन्यायाधीशमा सिफारिस जोशीको संसदीय सुनुवाई साउन १० गते

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०७५, १५ : ०९
प्रधानन्यायाधीशमा सिफारिस जोशीको संसदीय सुनुवाई साउन १० गते

काठमाडौँ  । प्रधान्यायाधीशमा सिफारिस गरिएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको आउँदो बिहीबार अर्थात साउन १० गते संसदीय सुनुवाई हुने भएको छ ।
संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधिशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्र्रधानन्यायाधिश जोशीको सुनुवाई आगामी १० गते बिहिबार गर्ने निर्णय गरेको हो ।
 सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि आजैबाट छानवीन पनि सुरु गरेको छ ।
प्रधानन्याधीशका लागि गएको चैत १३ गते न्यायपरिषद्ले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषदमा पठाएको थियो ।
संवैधानिक परिषद्ले जोशीको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्दै संसदीय सुनुवाई समितिका पठाएको थियो । संसदीय सुनुवाई समिति निर्माण हुन ढिलाइ भएकाले लामो समयदेखि जोशी कायममुकायम रहँदै आएका छन् । गएको असार २५ गते संसदीय सुनुवाई समितिले पूर्णता पाएको थियो, त्यसपछि मात्रै प्रक्रिया सुरु भएको हो ।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस