आर्थिक समृद्धि र विकास अनुसारको परराष्ट्र नीति तय गरिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १३ : ५२
आर्थिक समृद्धि र विकास अनुसारको परराष्ट्र नीति तय गरिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं  । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आर्थिक समृद्धि र विकास अनुसारको परराष्ट्र नीति तय गरिने बताएका छन् । ज्ञवालीले मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढेकाले सोही अनुसारको परराष्ट्र नीति तय गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।

पूर्व राजदुतहरुले स्थापना गरेको ‘एशोसिएशन अफ फरमर नेपाली एमबास्डोर्स’ को आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले संविधानको परिधि भित्र रहेर नेपालले परराष्ट्र नीति अवलम्बन गर्ने पनि स्मरण गराए । ज्ञवालीले बदलिँदो परिवेश अनुसार मुलुकको परराष्ट्र नीतिलाई पुनर्परिभाषित गर्दै लगिएको दावी पनि गरेका छन् । राष्ट्रहित परराष्ट्रनीतिको मूल चुरो रहेको स्मरण गराउँदै उनले सरकारले सोही अनुसारको नीति लिएको पनि स्पष्ट पारेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले गरिवी हटाउने, नेपाललाई विकसित राष्ट्रको दाँजोमा अघि बढाउन तीव्र गतिका साथ काम गर्नेलगायतका परराष्ट्र नीतिका विषयमा सबै राजनीतिक दलहरुबीच साझा धारणा रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागि परेको दावी पनि गरे ।

मन्त्री ज्ञवालीले परराष्ट्र नीतिलाई सामयिक बनाउन पूर्व राजदुतहरुलाई आवश्यक सुझाव दिन पनि आग्रह गरे । पूर्व राजदुतहरु मुलुकको परराष्ट्र नीति निर्माणमा सरकारको सल्लाहकारको रुपमा रहनुपर्नेमा परराष्ट्रमन्त्री ज्ञवालीको जोड थियो ।

प्रतिक्रिया दिनुहोस