जीवन दर्शनबारे ओशोका १० सुझाब

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १० : २५
जीवन दर्शनबारे ओशोका १० सुझाब

जीवन र दर्शनबारेका आफ्ना सिद्धान्तहरूमार्फत ओशो संसारभर चर्चित छन् । आचार्य रजनीशका नामले समेत चिनिने ओशो ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मिएका थिए । १९ जनवरी १९९० मा उनको निधन भयो ।

तर प्रेम, सम्भोग, जीवन अध्यात्मका विषयमा दिएका प्रवचन तथा लेखेको पुस्तकका कारण उनी आजसम्म पनि धेरैको मानसपटलमा जीवित छन् । जीवन दर्शनबारे ओशोका १० चर्चित भनाइ :

१. ओशो सधैँ हाँस्न, मुस्कुराउन, खुसी हुन सल्लाह दिन्छन् । यसो गर्दा शान्ति छाउने उनको तर्क छ । भनेका छन्, ‘शान्तिको सुरुवात एक मुस्कानबाट हुन्छ ।’ उनले आफैँ पनि निकै हृदयस्पर्शी शब्द बोलेका छन् । भनेका छन्, ‘म अहिले मुस्कुराउँछु, हिजो मुस्कुराएकै थिएँ र भोलि पनि मुस्काइरहन्छु । त्यो यसकारण कि रोयो भने जिन्दगी छोटो हुन्छ या भनौँ जिन्दगी रुनका लागि हुँदैहोइन ।’

२. जीवनमा के गर्ने ? कता जाने ? कुन क्षेत्र रोज्ने ? यी प्रश्न हरेक मानिसका लागि चिन्ताको विषय हुन्छ । तर, ओशोले जीवनयात्राबारे निकै सजिलो तर्क पेस गरेका छन् । उनले भनेका छन्, ‘जहाँ डर हुन्छ त्यो बाटोमा नजानुस् । यस्तो बाटोमा हिँड्नुस् कि जसले तपाईंलाई प्रेम र खुसीले चलाओस् ।’

३. ज्ञानको दायरा असीमित हुन्छ । कतिलाई ममा सम्पूर्ण ज्ञान छ भन्ने भ्रम पनि हुन सक्छ । ओशोले भनेका छन्, ‘जतिवेला मैले सम्पूर्ण ज्ञान पाएको छु भन्ने लाग्छ त्यतिवेलै तपाईंको मृत्यु हुन्छ । किनकि, त्यसपश्चात् न कुनै आश्चर्य, न त आनन्द नै । त्यसपछि तपाईं मृत जीवन जिइरहेको हुनुुहुन्छ ।’

४. जीवनको लक्ष्य र कामबारे धेरै अनभिज्ञ हुन्छन् । कतिले त पाएको उपलब्धिलाई पनि सन्तोषका साथ हेरिरहेका हुँदैनन् । ओशोले भनेका छन् कि तपाईं त्यो बन्नुस्, जुन तपाईं सोच्नुहुन्छ कि यही नै म हुँ । यसको मतलब हो, आत्मनिर्णयलाई केन्द्रमा राखेर अगाडि बढ्नुस् ।

५. धेरै मानिसले आफूलाई भएभन्दा बढी बौद्धिक देखाउन चाहन्छन्, अनावश्यक प्रदर्शन गर्छन् । यो मानिसको नेचर नै हो । ओशोका अनुसार यस्तो बन्नु जीवन जिउने कला होइन । भनेका छन्, ‘बढीभन्दा बढी कम ज्ञानी हुनुस्, बच्चाजस्तो बन्नोस् र जीवनको मज्जा लिनुहोस् । किनकि, वास्तविकतामा यही नै जीवन हो ।’

६. ओशोले त मानिसलाई बढी गम्भीर नबन्न सुझाब दिएका छन् । उनले भनेका छन् कि गम्भीरता एक बिरामी हो, आत्माको सबैभन्दा ठूलो बिरामी । चञ्चलता मानिसका लागि सबैभन्दा बढी स्वस्थकर हुन्छ।

७. ‘हरेक चिज पहिला आफैँभित्र खोज्नुस् । नत्र तपाईं अर्को मानिससँग निर्भर रहनुपर्छ । जसले स्वयं आफैँलाई जान्दैन ।’ ओशोको यस भनाइले मानिसमा स्वयं निर्णय लिने क्षमता हुनुपर्छ भन्ने हो ।

८. हामी धेरैको स्वभाव हुन्छ कि बितेको समयमा हराउने । विगतका असफलतालाई सम्झने र भविष्यको मार्गै नदेख्ने । ओशोका अनुसार यसो गर्नु घातक छ । ओशोको भनाइ छ, ‘बितेको समयका कारण बोझिलो भएर नबस्नुस् । जुन पाठ तपाईंले पढ्दै हुनुहुन्छ त्यसलाई बन्द गर्नुस् । पटक–पटक एउटै कुरामा जान जरुरत छैन । सोच्नका लागि अनगिन्ती विचार छन् ।’

९. ओशोले अहंकार मानिसको ठूलो भूल भएको बताएका छन् । भन्छन्, ‘अहंकारले तत्कालका लागि खुसी त मिल्ला तर अन्तमा दुःख नै दुःख हात पर्छ । जहाँ सुरुमै सुख हुन्छ त्यसको सधैँ दुःखद अत्य हुन्छ । सुख त्यति सस्तो छैन कि जुन सुरुमै मिलोस् ।’

१०. हामी धेरैसँग धेरै थरीका आस राख्छौँ । स्वार्थ राखेर काम गर्छौं । आफ्नो सपना पूरा गर्न कसैलाई प्रयोग गर्न खोज्छौँ । तर, ओशो यसो नगर्न सल्लाह दिन्छन् । नयाँ पत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस