काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताएका छन् । बुधवार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरुको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले मुलुकको अर्थतन्त्रलाई गतिदिनको लागि सत्ता पक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको बताए ।
अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्वतहमा छलफल भइरहेको पनि दाबी गरे । उनले सदनमा सदस्यहरुले भनेको जस्तो अर्थतन्त्र कहाली लाग्दो अवस्थामा नभएको भन्दै सरकारले अर्थतन्त्र सुधार उन्मुख गराउनसक्ने अवस्थामा रहेको बताए ।
अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौति समाधान गर्ने ठोस प्रतिवद्धता सरकारसँग रहेको बताए । उनले अर्थतन्त्रमा समस्याहरुका चाङहरु रहेको स्वीकार गर्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गरे ।
अर्थतन्त्र सुधारको लागि सबैले धैर्यता गर्न आवश्यकता पर्ने बताए । उनले सिथिलतामा पुगेको अवस्थालाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय नभएको जिकिर गरे । सरकार सम्पूर्ण रुपमा इमान्दारिताका साथ क्षमता र योग्यताले भ्याएसम्म आफू र पार्टी भन्दा माथि उठेर देश र जनतालार्इं केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।
अर्थमन्त्री डा.महतले अर्थमन्त्री भएर आएको एक महिना भएकाले भन्दै तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताए । उनले सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिवद्धता जनाए ।
अर्थमन्त्री डा. महतले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको बताए । उनले बजार संकुचनको अवस्थामा रहेकाले चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए । उनले अब अर्थतन्त्रमा सुधार गर्नुपर्ने समय आएकाले बैंकको ब्याजदरमा बैंकहरुले पुनःविचार गर्ने र मौद्रिक नीतिका यन्त्रहरु प्रयोग गरी शेयर बजार, अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकको ब्याजदर एक अकंमा झार्ने अर्थमन्त्री महतको दाबी
आगामी वर्ष ऋण भुक्तानी गर्न एक खर्ब चाहिन्छ : अर्थमन्त्री महत
बजेटका अधिकांश सूचक सकारात्मक : अर्थमन्त्री महत