स्मार्ट सिटि निर्माणको सुझाव लिन भरतपुर महानगरद्धारा सरोकारवालासँग अन्तरक्रिया

शुक्रबार, ०४ साउन २०७५, १९ : ४०
स्मार्ट सिटि निर्माणको सुझाव लिन भरतपुर महानगरद्धारा सरोकारवालासँग अन्तरक्रिया

चितवन । भरतपुर महानगरपालिकाले नगरको गुरुयोजना तथा स्मार्ट सिटि निर्माणका विषयमा सरोकारवालासँग छलफल गरेको छ । महानगरपालिकाले गुरुयोजना निमार्ण र भरतपुरलाई स्मार्ट सिटि बनाउने सन्दर्भमा विज्ञहरुसँग छलफल गरेको हो । यसअघि पनि महानगरले गुरुयोजना निर्माणका लागि विज्ञहरुसँग सुझाव संकलन गर्ने कार्य गर्दै आईरहेको थियो ।

नेपाल सरकार शहरी विकास तथा भवननिर्माण विभाग नयाँ शहर परियोजना काठमाण्डाँैको समन्वय तथा भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा भरतपुर महानगरपालिकालाई स्मार्ट बनाउन स्थानिय स्तरबाटै स्मार्ट नीतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिईएको थियो ।
कार्यक्रममा विज्ञहरु अरूणा तन्डुकार र विलास कोइरालाले स्मार्ट सटी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि टिप्पणी गर्दै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा शहरी विकास विज्ञ डा सुनिलबाबु श्रेष्ठले भरतपुर महानगरपालिका स्मार्ट सिटीका लागि उपयुक्त रहेको उल्लेख गर्नुभयो ।

महानगरपालिकाले सबै सरोकारवाला निकायसँग समन्वय गरी ५० बर्ष पछिलाई परिकल्पना गरि एकिकृत गुरूयोजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । स्मार्ट सिटीको अवधारणा अनुसार महानगरले गर्ने सम्पूर्ण काम डाटा बेसमा गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रदेश सभासद विजय सुवेदीले एकिकृत योजनासहितको दिगो विकासले मात्र स्मार्ट सिटीको अवधारणा पूरा हुने बताउनुभयो । कार्यक्रममा अर्का संसद मिलनबाबु श्रेष्ठले सबै पक्षलाई समेटेर दिगो र आत्मनिर्भर विकासको खाका तयार गरी कार्यान्वयनमा गए स्मार्ट सिटिको लक्ष्य पुरा हुने बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाइ स्मार्ट सिटीको रूपमा विकास गर्ने महानगरको योजना भएको भन्दै त्यसका लागि यस्ता अन्तरक्रिया महत्वपुर्ण हुने बताउनुभयो । भरतपुर महानगरपालिकालाई देशकै नमुना महानगर बनाउन प्रतिवद्ध रहेको भन्दै यसका लागि सबै सरोकारवालाको समुहिक चासो चिन्ताका साथ सहयोग रहनुपर्ने बताउनुभयो ।
शहरी विकासका डिभिजनल इन्जिनियर किशोर श्रेष्ठले स्मार्ट पिपुल, क्मयुनिटि, सिटि हुदै स्मार्ट कन्ट्री हुने धारणा व्यक्त गर्नुभयो । इन्जिनियर हरि भन्डारीले स्मार्ट सिटि निर्माणका लागि सबै संयन्त्रको सुष्म अध्ययनको पहिलो कदम नै स्मार्ट हुन नसक्ने बताउनुभयो ।

चिकित्सक डा भोजराज अधिकारीले स्मार्ट सिटीको महत्वपूर्ण कम्पोनेन्ट मध्य स्वास्थ्य क्षेत्र पनि महत्वपूर्ण भएकाले यसको सुपर स्पेसलाइजेसन गरिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा डाक्टर सन्तोष मरहठ्ठा इन्जिनियर बाबुराम ढकाल, शिक्षाविद रमाकान्त सापकोटा, उद्योग वाणिज्य सघं चितवनका अध्यक्ष  सहनलाल प्रधान, चितवन उद्योग सघंका उपाध्यक्ष राजु पौडेल, शिक्षक प्रेम रिमाल लगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस