अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १३ : ०२
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठजना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । सर्लाही, मोरङ, कैलाली, पर्सा र बाराबाट प्रहरीले अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको हो ।

सर्लाहीको बरहथवा नगरपालिका–७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई प्रहरीले अवैध लागूऔषध गाँजा ४ सय ८० ग्रामसहित सोमबार साँझ पक्राउ गरेको छ ।प्रहरीले घरभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी सर्लाहीकै लालबन्दी नगरपालिका–१२ जियाजोर जाने बाटो नजिकबाट प्रहरीले अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित सोही नगरपालिका–१४ बस्ने २५ वर्षीय वीर बहादुर गोलेलाई सोमबार राति पक्राउ गरेको छ ।

प्रहरीले बा ५० प २९९८ नम्बरको मोटरसाइकल चालक गोलेलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोक बस्ने १९ वर्षीय विश्वास धिमाल समेत ३ जनालाई प्रहरीले अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २१ ग्रामसहित सोमबार राति पक्राउ गरेको छ ।

प्रहरीले धिमालको घरबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यस्तै, कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट प्रहरीले अवैध लागूऔषध अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही नगरपालिका–७ बस्ने २८ वर्षीय पदम साउँद समेत २ जनालाई सोमबार साँझ पक्राउ गरेको हो ।प्रहरीले प्रदेश २–०३–००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट प्रहरीले नियन्त्रित लागूऔषध नाईट्राभेट ९० ट्याब्लेट, एकसय एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेस जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित एक जनालाई सोमबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहनागरपालिका–११ बस्ने ३१ वर्षीय बिकी बिक रहेका छन् । प्रहरीले ना ७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी, बाराको सिम्रौनगढ नगरपालिका–१ ढाटटोलाबाट अवैध लागूऔषध गाँजा ३० केजी सोमबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले उक्त लागूऔषध फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस