लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १३ : २२
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं। अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-२ भन्सार चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछानेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका-१० खैराबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित सोही ठाउँ जलौरा बस्ने २० वर्षीय आकाश बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्रामसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 

 

 

 

 

 

 

 

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय कोलेन राई, २८ वर्षीय सोनाम तामाङ र सोही उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय अगम राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
 
यस्तै, काठमाडौं महानगरापालिका-१५ चमती डेरागरी बस्ने १९ वर्षीय नवीन रिजालको कोठाबाट अवैध लागूऔषध गाँजाको धुलो करिब २ सय ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ७ सय ६५ ट्याब्लेट, ट्रामाडोल ५ सय ५० ट्याब्लेट, स्ट्रागन ३ सय ७० ट्याब्लेट, स्पास ३० ट्याब्लेट र नगद २९ हजार ७ सय रूपैयाँसहित काठमाडौं महानगरपालिका-१५ चमती बस्ने २६ वर्षीय अनिष महर्जनसमेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सर्लाहीको बागमती नगरपालिका-१२ बागमती पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम तामाङ र १९ वर्षीय निशान दोङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस